वि ग्लोबल फाउन्डेसनको पहलमा खिजीदेम्बा गाउँपालिकाका सात विद्यालयका विद्यार्थीलाई दैनिक खाजा वितरण गरिने भएको छ । कक्षा ६ देखि १२ सम्मका करिब एक हजार ६०० विद्यार्थीलाई प्रत्येक दिन प्रति विद्यार्थी ३० रुपैयाँ मूल्य बराबरको खाजा उपलब्ध गराइने छ ।
यस कार्यक्रममा खर्चको विवरण अनुसार, कल्स ओभर नेपालले २० रुपैयाँ, गाउँपालिकाले ५ रुपैयाँ, र अभिभावकले ५ रुपैयाँ सहयोग गर्ने व्यवस्था गरिएको छ । खाजा कार्यक्रम विगत १६ महिनादेखि गाउँपालिकाका चार विद्यालयमा सञ्चालन हुँदै आएको थियो ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाका अनुसार, यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई स्वस्थ राख्ने, दैनिक विद्यालय आउन प्रोत्साहित गर्ने, जङफुटबाट टाढा राख्ने र खाजाका कारण पढाईमा बाधा नपरोस् भन्ने हो ।
वि ग्लोबल फाउन्डेसनले यसअघि वाग्मती र गण्डकी प्रदेशमा यो कार्यक्रम सञ्चालन गरिरहेको थियो भने, खिजीदेम्बा गाउँपालिका कोशी प्रदेशमा पहिलोपटक यस कार्यक्रम सुरु भएको हो ।
यसैबीच, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई सरकारले प्रतिदिन १५ रुपैयाँको दरले खाजा उपलब्ध गराउँदा, गाउँपालिकाले थप ५ रुपैयाँ थपेर प्रति विद्यार्थी २० रुपैयाँको खाजा प्रदान गर्दै आएको थियो ।
अध्यक्ष शेर्पाले भने, “हामी विद्यार्थीको पोषण र शिक्षा दुवैमा ध्यान दिन चाहन्छौं । खाजा कार्यक्रमले बालबालिकालाई विद्यालयमा नियमित उपस्थित हुन प्रोत्साहित गर्नेछ ।”

प्रतिक्रिया