ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले राजधानी काठमाडौंमै दुई दिनको एकीकृत सेवा शिविर सञ्चालन गरेको छ । राजधानीमा बसोबास गर्ने नगरवासीलाई शहरमै सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण, मालपोत र नापीसँग सम्बन्धित काम तथा वडा कार्यालयमार्फत प्रदान गरिने अन्य सेवाहरू उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
शिविरको पहिलो दिनै राहदानीमा बसोबास गर्ने दर्जनौं सेवाग्राहीले सेवा लिएका छन् । राजधानीबाट गाउँसम्म ओहोरदोहोर गरी सामान्य सेवाका लागि खर्च र हैरानी भोग्नुपर्ने बाध्यता हटेको सेवाग्राही सिद्धिचरण नगरपालिका–२ की स्थायीबासिन्दा सर्मिला श्रेष्ठले बताईन् ।
नगर प्रमुख तेजन खनालका अनुसार काठमाडौंमै शिविर सञ्चालन गर्नुको मुख्य उद्देश्य राजधानीमा रहेका नगरवासीलाई सहज र छिटो सेवा उपलब्ध गराउनु हो । “दुई दिनका लागि आयोजना गरिएको यो शिविरमा उपस्थिती र आवश्यकताका आधारमा भविष्यमा पनि माग अनुसार सेवा दिने योजना छ,” नगर प्रमुख खनालले भने ।
नगरपालिकाले इटहरीमा बसोबास गर्ने नगरवासीका लागि पनि यही भदौ २१ गते इटहरीको संगीत साधना टोलमा शिविर सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया