ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ का आगलागी पीडित दिल बहादुर सुनुवारलाई राहत प्राप्त भएको छ । गत बिहीबार राति चुल्होबाट सल्किएको आगोले सुनुवारको ढुंगा, माटो र ढुंगाको छानो भएको दुईतले घर पूर्ण रूपमा नष्ट भएको थियो ।
आगलागी पछि विचल्लीमा परेका सुनुवार परिवारलाई गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले घरमै पुगेर ६० हजार रुपैयाँ बराबरको खाद्यान्न र सामग्री हस्तान्तरण गरेका छन् । सहयोगमा चामल, दाल, नुन, तेल, मसला, भाँडावर्तन, ब्ल्याङ्केट, तन्ना तथा कपडा लगायतका सामग्री छन् । बाँकी रकम समेत पीडितलाई हस्तान्तरण गरिएको अध्यक्ष शेर्पाले बताए ।
यो प्रारम्भिक सहयोग मात्र रहेको उल्लेख गर्दै उनले कार्यपालिका बैठकमार्फत छिट्टै थप दीर्घकालीन राहतको व्यवस्था गर्ने अध्यक्ष शेर्पाले प्रतिबद्धता जनाएका छन् । आगलागीको बेला सुनुवार दम्पती मात्र घरमा रहेका थिए भने अन्य परिवारका सदस्य नभएको जनाइएको छ ।
घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जलेर नष्ट हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । यद्यपि, आगलागीमा मानविय वा पशुचौपायाको क्षति भएन ।

प्रतिक्रिया