चुल्होबाट सल्किएको आगोले खिजीदेम्बा–५ का दिल बहादुर सुनुवारको घर जलेपछि उनको परिवार विचल्लीमा परेको छ । बिहीबार राति ११ बजे सुनुवारको घरमा आगलागी भई पुर्णरुपमा क्षति भएको छ । आगलागीले ढुंगा, माटो र ढुंगाको छानो भएको दुई तले घर, घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन सबै जलेर नष्ट हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
आगलागीमा मानविय वा पशुचौपायाको क्षति नभएको प्रहरी निरीक्षक कार्कीले बताए । तर अन्नपात, लत्ताकपडा र खानेकुरा जलेर नष्ट भएपछि सुनुवार परिवारको अवस्था निकै दयनीय बनेको छ । आगलागीको समयमा घरमा सुनुवार दम्पत्ती बाहेक परिवारका अन्य सदस्य थिएनन् ।
आर्थिक अवस्था कमजोर भएकाले सुनुवार परिवारलाई राहत स्वरूप वडा कार्यपालिकाले १५ हजार रुपैयाँ उपलब्ध गराउने तयारी गरिरहेको वडा अध्यक्ष रामकुमार सुनुवारले जानकारी दिए ।

प्रतिक्रिया