ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका टिकाराम खड्का र टिकामाया खड्का दम्पत्ती अहिले गाउँमै बसेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
उनीहरूले आफ्नै १५ रोपनी र भाडामा लिएको ३५ रोपनीसहित ५० रोपनी खेत बारीमा मौसमी र बेमौसमी तरकारी खेती गरिरहेका छन् । विगत सात वर्षदेखि निरन्तर व्यवसायिक खेती गर्दै आएका उनीहरूको खेतमा हाल ११ हजारभन्दा बढी काउली, चार हजार बन्दा, १५ सय टमाटरका बोटसहित गोलभेंडा, खुर्सानी, लौका, गिरौला, बोडी, करेला लगायतका तरकारी उत्पादन भइरहेको छ ।
कृषक टिकारामका अनुसार सातामा १० क्विन्टलभन्दा बढी तरकारी उत्पादन हुन्छ, बजारको समस्या छैन । “ओखलढुंगाको शनिबार र बुधबार लाग्ने हटियामा बिक्री गर्छौं । साथै सुरक्षा निकायका मेस र होटलहरूमा पनि मागअनुसार पठाउँछौं,” उनले भने ।
पाँच वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका टिकारामले विदेशको तुलनामा गाउँमै तरकारी खेतीबाट बढी आम्दानी हुने देखेपछि व्यवसायीक तरकारी खेतिमा लागेका हुन् । श्रीमान विदेशमै हुँदा टिकामाया एक्लैले सामान्य रुपमा खेती सुरु गरेकी थिइन् ।
हाल उनीहरूले तरकारीसँगै सुन्तला खेती र कुखुरा पालन सुरु गरेका छन् । आगामी दिनमा बोयर बोका पालन गर्ने योजना बनाएका छन् । कृषि ज्ञान केन्द्रमार्फत तालिम लिएका खड्का दम्पत्ती अनुभव र सीपका आधारमा खेतीलाई अझ आधुनिक र नाफामुखी बनाउँदै लैजाने योजनामा छन् ।

प्रतिक्रिया