ओखलढुंगामा साउन महिनामा एक करोड ४४ लाख राजस्व सङ्कलन

भिजन समाचार
30
Shares

करदाता सेवा कार्यालय ओखलढुंगाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा एक करोड ४४ लाख ५६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम चालु आवको वार्षिक राजस्व लक्ष्यको ३.१३ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी सचिन देव भट्टराईका अनुसार चालु आवमा ४६ करोड १६ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । साउन महिनामा दुई करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने योजना रहेकामा ६२.१६ प्रतिशत मात्र सङ्कलन भएको भट्टराइले जानकारी दिए ।

साउनमा सङ्कलित राजस्वमध्ये आयकरबाट ५६ लाख ३३ हजार, घरबहाल करबाट दुई लाख ७१ हजार, ब्याज करबाट २५ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ५९ लाख १० हजार र अन्तःशुल्कबाट २६ लाख १७ हजार रुपैयाँ प्राप्त भएको छ ।

राजस्व लक्ष्य हासिल गर्न कार्यालयले करदातालाई ताकेता गर्ने, करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने र लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गर्ने काम गरिरहेको सूचना अधिकारी भट्टराईले बताए ।