मोलुङमा स्थानीय पाठ्यपुस्तक लागू

भिजन समाचार
52
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिकाले आफ्ना विद्यार्थीलाई स्थानीय ज्ञानसँग जोड्ने उद्देश्यसहित पहिलो पटक स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । गाउँपालिकाले कक्षा–६ का लागि तयार गरिएको ‘हाम्रो मोलुङ’ नामक पुस्तक सार्वजनिक गर्दै औपचारिक रूपमा प्रयोगमा ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष उत्तम राईले पुस्तक विमोचन गर्दै यस प्रकाशनले विद्यार्थीलाई गाउँपालिकाको भूगोल, संस्कृति, परम्परा, सामाजिक जीवनशैली र स्थानीय विशेषताबारे महत्त्वपूर्ण जानकारी दिने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष राईले भने, “विद्यार्थीले बाह्य ज्ञान त विद्यालयमा सिक्छन्, तर आफ्नै गाउँ र संस्कृतिबारे गहिरो जानकारी लिन पाउँदैनन् । यो पुस्तकले त्यस क्षेत्रमा ठूलो सहयोग गर्नेछ ।”

उपाध्यक्ष उर्मिला खतिवडाले ‘हाम्रो मोलुङ’ केवल शैक्षिक सामग्री मात्र नभई भविष्यका पुस्तामा स्थानीय इतिहास, संस्कार र ज्ञान हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम बन्ने धारणा राखिन् ।

गाउँपालिका शिक्षा शाखा प्रमुख सरस्वती पौडेलका अनुसार कक्षा–६ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पुस्तक निःशुल्क वितरण गरिनेछ । साथै, दीर्घकालीन योजनाअनुसार कक्षा–१ देखि ८ सम्मका लागि यस्तै स्थानीय पाठ्यसामग्री तयार गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

बाल्यकालदेखि नै विद्यार्थीले आफ्नै गाउँ, संस्कृति र भौगोलिक बनावट बुझ्न सक्ने र समाजप्रति आत्मीयता तथा जिम्मेवारीबोध थपिने अपेक्षा गरिएको छ ।