काठमाडौंमै खिजीदेम्बाको प्रशासनिक सेवा, ८९८ जनाले पाए सुविधा

भिजन समाचार
26
Shares
शिविरमा सहभागी सेवाग्राही

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले काठमाण्डौंमै पुगेर सेवाग्राहीलाई घरमै जस्तो सुविधा उपलब्ध गराएको छ । साउन २४ देखि २७ गतेसम्म काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेस, चामुण्डा गेटमा सञ्चालन भएको ‘एकिकृत प्रशासनिक शिविर’ मा ८९८ जनाले सेवा लिएका छन् ।

शिविरमा ३६० जनाले सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, २१९ जनाले मालपोत र नापीसम्बन्धी सेवा, १२६ जनाले जन्म दर्ता, ८६ जनाले विवाह दर्ता, ७५ वटा अन्य सिफारिस, १७ जनाले बसाइँसराइ, १२ वटा मृत्यु दर्ता, २ वटा सम्बन्धविच्छेद र एक जनाले औषधि उपचार सम्बन्धी सेवा प्राप्त गरेको प्रवक्ता पासाङङिमा शेर्पाले बताए । शिविर बाट ७१ हजार ५२३ रुपैयाँ ८९ पैसा राजश्व संकलन भएको प्रवक्ता शेर्पाको भनाई छ ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाका अनुसार, धेरै सेवाग्राही काठमाडौंमै बसोबास गर्ने भएकाले उनीहरूको समय, खर्च र हैरानी घटाउने उद्देश्यले बर्खायाममै राजधानीमा शिविर चलाइएको हो । यसले आवतजावतको झन्झट कम गर्नुका साथै बसाइँसराइको दर घटाउन पनि सहयोग पु¥याउने अपेक्षा गरिएको अध्यक्ष शेर्पाले बताए ।

पालिका अध्यक्ष शेर्पाले भने, “निःशुल्क रुपमा पाउनु पर्ने सेवा नागरिकको अधिकार हो । बर्खायाममा यात्रा गर्दा हुने जोखिम र अप्रिय घटनाबाट बचाउन हामी नागरिकको नजिक पुगेका हौँ ।” आगामी दिनमा पनि जनताको माग र आवश्यकताको आधारमा शिविर सञ्चालन गरिने अध्यक्ष शेर्पाले जानकारी दिए ।

यसरी गाउँपालिकाकाे सेवा शहरमै पाउदा काठमाडौंमा रहेका सेवाग्राहीहरू खुसी देखिएका छन् । शिविरमा गाउँपालिकाका नाै वटै वडाका नागरिकले सेवा लिएका थिए ।