लम्पी स्किनले सुनकोशीमा गोरु मर्याे

भिजन समाचार
54
Shares

ओखलढुंगामा पुनः पशु चाैपायमा लम्पी स्किन रोगको संक्रमण देखापरेको छ । लम्पी स्किन रोगका कारण सुनकोशी गाउँपालिकामा एउटा गोरु मरेको छ । जिल्लाको मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकामा हालसम्म चार पशुमा संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका सूचना अधिकारी धिरेन राईले जानकारी दिए ।

सूचना अधिकारी राईका अनुसार, सुनकोशी गाउँपालिकामा रोगका कारण एउटा गोरु मरेको हो । सुनकोशीमै दुई भैँसी संक्रमित भएका छन् । यस्तै, मोलुङ गाउँपालिकामा दुई गोरुमा संक्रमण देखिएको छ ।

रोगको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा ६ हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप ल्याइएको र वितरण योजना अनुसार प्रत्येक गाउँपालिकालाई ५०० डोज र नगरपालिकालाई १ हजार डोज खोप उपलब्ध गराइएको छ । हालसम्म चिशंखुगढी र खिजिदेम्बा गाउँपालिकामा ५००–५०० डोज खोप लगाइसकिएको छ ।

सूचना अधिकारी राईका अनुसार, रोगको जोखिम अझै उच्च भएकाले पशुपालक किसानलाई सतर्क रहन, समयमै खोप लगाउन र संक्रमित पशुको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

पशु चिकित्सकका अनुसार, ‘लम्पी स्किन’ गाईभैँसीमा भाइरसका कारण लाग्ने महामारी हो जसमा उच्च ज्वरो, दानापानी कम खाने, दुध उत्पादन घट्ने, छालामा गोलो गिर्खा वा गाँठा देखिने, घाउ हुने, नाक–मुखबाट र सिँगान बग्ने, खुट्टा सुन्निने लगायतका लक्षण देखिन्छन् ।