क्षमता ३० मात्र भए पनि अहिले जिल्ला कारागार ओखलढुंगामा ७७ जना कैदीबन्दी राखिएका छन् । भीडभाड, संरचनागत कमी र महिला कैदीका लागि छुट्टै सुरक्षा पर्खाल नहुनु, यहाँको सुरक्षा व्यवस्थालाई थप चुनौतीपूर्ण बनाइरहेको छ ।
पछिल्लो समय कैलाली कारागारमा कैदीबिच झडप भई एकको मृत्यु र दर्जनौं घाइते हुने घटनापछि गृह मन्त्रालयले देशभरका कारागारमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको हो । ओखलढुंगामा पनि थप सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा प्रणाली मजबुत पारिएको निमित्त जेलर लेखनाथ दाहालले जानकारी दिए ।
हाल यहाँ ५९ जना कैदी र १८ जना बन्दी छन् । तीमध्ये महिला कैदी सात जना छन् भने बाँकी सबै पुरुष हुन् । महिला कैदीलाई छुट्टै नयाँ भवनमा सार्न सुरक्षा पर्खाल नबनेको कारणले सम्भव भएको छैन ।
भीडभाडका कारण कैदीबन्दीलाई पर्याप्त बस्ने ठाउँ, खानेपानी र शौचालयको समस्या हुने गरेको जेलर दाहालले बताए । “कोचाकोच गरेर बस्नुपर्छ, शौचालय जान लामो समय पालो कुर्नुपर्छ,” दाहालले भने ।
यसअघि २०८१ असोज ३ गते कैदीबिच झडप हुँदा केही घाइते भएका थिए । त्यसबेला तत्कालीन तनावपूर्ण अवस्थाका कारण नाइके र सह–नाइकेलाई नुवाकोट कारागारमा सारिएको थियो ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार भीडभाडकै कारण निगरानी कठिन हुने भएकाले सुरक्षाकर्मी परिचालनदेखि व्यवस्थापन सम्म हाल थप सतर्कता अपनाइएको छ । “बेलाबेलामा अनुगमन गरेर कैदीबन्दीका समस्या बुझ्ने र विवाद टार्ने गरी जिम्मेवारी बाँडफाँड गर्ने गरिएको छ,” प्रमुख जिल्ला अधिकारी सुवेदीले भने ।

प्रतिक्रिया