वन्यजन्तुको आक्रमणका कारण ओखलढुंगाका कृषकले आर्थिक वर्ष २०८१/०८२ मा मात्र छ लाख ६६ हजार रुपैयाँ बराबरको क्षति बेहोरेका छन् । डिभिजन वन कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार सो अवधिमा १३ वटा राहत मागका निवेदन दर्ता भएका छन् ।
कार्यालयका सूचना अधिकारी अस्मिता न्यौपानेका अनुसार चितुवाले सिद्धिचरण नगरपालिका क्षेत्रमा १९ वटा, सुनकोशी गाउँपालिकामा ४ वटा, मानेभञ्ज्याङ गाउँपालिकामा १ वटा गरी २४ वटा बाख्रा मारिदिएको छ । त्यस्तै, खिजीदेम्बा गाउँपालिकामा एउटा घोडा मारिएको छ ।
यसका अतिरिक्त सिद्धिचरण नगरपालिका–१ मा बाँदरको आतङ्कले ६६० केजी मकैबालीमा क्षति पु¥याएको तथ्यांकमा उल्लेख छ ।
राहतका लागि दर्ता भएका निवेदनहरू वन निर्देशनालयमा पठाइए पनि हालसम्म पीडित कृषकहरूले राहत पाएका छैनन् । ‘प्रक्रियामा रहेकाले वितरण कहिले हुन्छ भन्ने स्पष्ट छैन,’ सूचना अधिकारी न्यौपानेले भनिन् ।
स्थानीयले वन्यजन्तुको नियन्त्रण र पीडितलाई राहत छिटो उपलब्ध गराउन सम्बन्धित निकाय सँग माग गरेका छन् ।

प्रतिक्रिया