खिजीदेम्बाको सेवा काठमाडौंमा सुरु, नागरिक खुसी

भिजन समाचार
72
Shares

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौंमा सुरु भएको छ । राजधानीमा बसोबास गर्ने नागरिकका लागि पालिकाले ३ दिनको एकीकृत शिविर सञ्चालन गरेर सेवा दिन थालेको हो ।

शिविरमा जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत र नापीसँग सम्बन्धित सेवा, साथै वडा कार्यालयमार्फत प्रदान गरिने अन्य सेवाहरू उपलब्ध गराउन थालिएको छ ।

शिविरमा सेवाग्राहीको घुइँचो लागेको छ । 

राजधानीबाट गाउँसम्म ओहोरदोहोर यात्रा गरेर सामान्य सेवाका लागि खर्च र हैरानी गर्नुपर्ने बाध्यता नभई शिविरबाटै सहज सेवा पाइएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा सुरु भएको एकीकृत प्रशासनिक शिविरको कोशी प्रदेशका सांसद प्रदिप कुमार सुनुवारले उद्घाटन गरेका छन् ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले काठमाडौंमै शिविर सञ्चालन गरेर राजधानीमा रहेका सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनु मुख्य उद्देश्य भएको बताए ।

कार्यक्रममा उपाध्यक्ष सुसिला तामाङ, पूर्वमन्त्री प्रदीप कुमार सुनुवार, नेपाल सरकारका उपसचिव, प्रसाशकीय अधिकृत, वडाअध्यक्षहरु र सेवाग्राहिको उपस्थिति थियो ।

३ दिनका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको उपस्थिती र आवश्यकताका आधारमा शिविर सञ्चालन गरेर माग बमोजिमको सेवा दिइने उपाध्यक्ष सुसिला तामाङको भनाई छ ।

पूर्वमन्त्री प्रदिप कुमार सुनुवारले पालिकाको यो पहलले नागरिकलाई संघीय शासन प्रणालीको वास्तविक अनुभव दिलाएको भन्दै जनप्रतिनिधिको कामको प्रसंशा गरेका थिए । सेवाग्राहीहरूले वर्षाको समयमा गाउँ जानुपर्ने झन्झट घटेको भन्दै समय समयमा यस्ता शिविर राखेर ठाउँ ठाउँमा सेवा दिन सुझाव दिए ।

शिविरको अवसरमा गाउँपालिकाले गरेका काम र भएका प्रगतिको प्रतिवेदनसमेत प्रस्तुत गरेको थियो ।

सेवाग्राहीसँग पालिकाको सेवा प्रवाह तथा समृद्धिका लागि भएका पहलका बारेमा जानकारी दिइने र सुझाव लिइने गाउँपालिकाले जनाएको छ ।