ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले पालिकाको सेवा काठमाडौंमा दिने भएको छ । खिजीदेम्बाले काठमाडौं उपत्यकामा बसोबास गर्ने आफ्ना सेवाग्राहीका लागि आजबाट तीन दिनसम्म विशेष एकीकृत शिविर सञ्चालन गरेर सेवा दिने भएको हो ।
काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आज, भोलि र पर्सी तीन दिनसम्म सञ्चालन हुने एकिकृत शिविरमा जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत र नापीसम्बन्धी सेवा र वडा कार्यालयहरुबाट प्रदान गरिने अन्य सेवा उपलब्ध गराइने खिजीदेम्बाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले बताए । राजधानीमा रहेका खिजीदेम्बाका सेवाग्राहीले भरपुर सेवा उपभोग गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत केसीको भनाई छ ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाका अनुसार काठमाडौंमा रहेका सेवाग्राहीलाई आफ्नै गाउँपालिका पुग्नुपर्ने झन्झट कम गर्न र सेवामा पहुँच बढाउन यो पहल गरिएको हो । पालिकाका धेरै सेवाग्राही काठमाडौंमै रहेको र सामान्य सेवाका लागि समेत वर्षाको समयमा गाउँसम्म आवतजावत गर्दा खर्च र हैरानी बढ्ने भएकाले गाउँपालिकाले प्रदान गर्दै आएको प्रशासनिक तथा नागरिक सेवाहरू सहज र छिटो उपलब्ध गराउने उद्देश्यले काठमाडौंमै शिविर आयोजना गरेर सेवा दिने तयारी गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।
शिविरका क्रममासेवाग्राहीसँग समग्र पालिकाको सेवा प्रवाह र पालिकाको समृद्धिका लागि सुरू भएका पहलका बारेमा जानकारी दिइने र नागरिकसँग सुझाव समेत लिइने खिजीदेम्बा गाउँपालिकाले जनाएको छ ।
राजधानीमा सेवा प्रवाहका लागि खिजीदेम्बाबाट जनप्रतिनिधि र कर्मचारी काठमाडौं आईसकेका छन् ।

प्रतिक्रिया