मानेभञ्ज्याङमा दीर्घरोगीलाई सहुलियतमा औषधि वितरण

भिजन समाचार
90
Shares
स्वास्थ्य परिक्षण गर्दै ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले दीर्घरोगीहरूलाई लक्षित गरी पालिकाभरिका सबै वडाका स्वास्थ्य चौकीमार्फत सहुलियत दरमा औषधि वितरण गर्ने योजना बनाईएको छ ।

मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर लगायतका दीर्घरोगहरूको औषधि बजारमा महँगो हुनु र सहज रूपमा उपलब्ध नहुनुजस्ता समस्या समाधान गर्न पालिकाले यस्तो योजना ल्याएको हो ।

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार हरेक वडामा रहेका स्वास्थ्य संस्थाबाट दीर्घरोगीले आवश्यक औषधि सहुलियतमा प्राप्त गर्न सक्नेछन् । “बिरामीले नियमित सेवन गर्नुपर्ने औषधिमा पर्ने आर्थिक भार घटाउने र औषधिको अभावमा स्वास्थ्यमा गम्भीर असर नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएका हौँ,” अध्यक्ष रुम्दालीले बताए ।

यस सेवाअन्तर्गत हाल स्वास्थ्यकर्मीहरूको टोली घर–घरमै पुगेर दीर्घरोगीहरूको पहिचान तथा विवरण संकलन गरिरहेको छ । बिरामीले सेवन गर्दै आएको औषधिको नाम, डोज र कम्पनीसहितको विवरण अभिलेख गर्ने कार्य पनि भइरहेको पालिकाले जनाएको छ ।

गाउँपालिकाले यो अभियानबाट दीर्घरोगीहरूलाई राहत मिल्ने विश्वास लिएको छ । नियमित रूपमा औषधि सेवन गर्नुपर्ने बिरामीहरूको पहुँचमा औषधि पुग्ने र उपचार सहज हुने अपेक्षा गरिएको छ ।