सुनकोशी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

भिजन समाचार
172
Shares

सुनकोशी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै नदीको जलस्तर बढ्दै गएकाले बाढीको जोखिम बढेको उल्लेख गरेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीस्थित नाकोटे जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नाघिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रशासनको सूचनामा भनिएको छ, “नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम समेत रहेकाले सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ ।”

वर्षा अझै केही दिन यथावत् रहने अनुमान भएकाले ओखलढुंगाका तटीय बस्तीहरूमा बाढी तथा पहिरोको सम्भावनालाई दृष्टिगत गर्दै स्थानिय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरेर सतर्कता र पूर्वतयारीमा जुट्न प्रशासनले आग्रह गरेको छ ।

नदी आसपासमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहनुका साथै जोखिम देखिएमा सुरक्षित स्थानमा सारिन प्रशासनले अनुरोध गरेको छ ।