ओखलढुंगाबाट १८ हजारभन्दा बढीको बसाइँसराइ


पछिल्लो एक दशकमा ओखलढुंगाबाट १८ हजारभन्दा बढीले जिल्ला छाडेका छन् । रोजगारी, शिक्षा, विवाह, आधारभूत सेवा लगायतका विविध कारणले उनीहरू अन्यत्र बसाइँ सरेका हुन् ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार जिल्लाबाट कुल १८ हजार ६७ जनाले स्थायी बसोबासका लागि अन्यत्र बसाइँसराइ गरेका छन् । खोटाङ, ओखलढुंगा, भोजपुर र सोलुखुम्बु जिल्लाको तथ्यांक समन्वय कार्यालय खोटाङका तथ्यांक समन्वय अधिकारी विकास मल्लका अनुसार बसाइँसराइको सबैभन्दा ठूलो कारण विवाह रहेको छ । उनका अनुसार १३ हजार ४५८ जनाले विवाहपछि जिल्ला छाडेका हुन् ।

रोजगारी बसाइँसराइको दोस्रो प्रमुख कारण भएको मल्लले जानकारी दिए । उनका अनुसार रोजगारीका लागि एक हजार ५२५ जनाले जिल्ला छाडेका छन्, जसमा एक हजार ९४ पुरुष र ४३१ महिला रहेका छन् ।

त्यस्तै, व्यवसायका लागि ४०५, अध्ययन तथा तालिमका लागि ४६१, परिवारमा आश्रित भएर ८४०, प्राकृतिक विपत्तिका कारण ४७ र कृषिका कारण ३१५ जनाले जिल्ला छाडेको तथ्यांकमा उल्लेख छ ।

मल्लका अनुसार बसाइँसराइ गर्नेहरू मुख्य रूपमा देशका प्रमुख शहरी क्षेत्र र विदेश गएका छन् । बढ्दो बेरोजगारी, शैक्षिक अवसरको अभाव र आधारभूत सेवामा पहुँच नहुँदा मानिसहरू अन्यत्र सर्न बाध्य भएको तथ्यांक रहेको मल्लले जानकारी दिए ।

बसाइँसराइ बढ्दै जाँदा गाउँबस्ती खाली हुने, उत्पादनशील जनशक्ति घट्ने, खेतीयोग्य जमिन बाँझिने, वृद्ध र बालबालिका बेसाहारा बन्ने जस्ता सामाजिक समस्याहरू देखिन थालेको सगरमाथा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले बताए ।

स्थानीय तह र सरोकारवाला निकायले बसाइँसराइ नियन्त्रण गर्न दीर्घकालीन रणनीति सहित प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरूको जोड छ ।