मानेभञ्ज्याङमा डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन

भिजन समाचार
34
Shares

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको डेंगु संक्रमण सम्भावित क्षेत्रमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय रुम्जाटारको आयोजना तथा मानेभञ्ज्याङ गाउँपालिकाको सहकार्यमा शुक्रबारदेखि अभियान थालिएको हो ।

वडा नं.७ को हर्कपुर क्षेत्रमा यो अभियान सञ्चालन भएको छ । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विश्वराज दाहालका अनुसार डेंगुको संक्रमण फैलिन नदिन विशेषगरी हर्कपुरलगायतका क्षेत्रलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत घर वरिपरिका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने, पुराना टायर, फुटेका ड्रम, भाँडाकुँडा हटाउने, र प्लास्टिकका बोतल फाल्ने जस्ता कार्य गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख दाहालले डेंगु फैलाउने एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरू बिहान र साँझ सक्रिय हुने भएकाले वर्षायाममा पानी जम्ने ठाउँहरूमा फुल पार्ने सम्भावना बढी हुने र यसबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तह र समुदायको सहकार्यमा यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।

डेंगुका लक्षणहरूमा उच्च ज्वरो, टाउको, आँखाको गेडी, ढाड र जोर्नीहरू दुख्ने समस्या देखिने भएकाले यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई चेकजाँच गराउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।