आर्थिक वर्ष २०८१/०८२ मा ओखलढुंगामा ६१ करोड ३५ लाख ७३ हजार ६४४ रुपैयाँ ३२ पैसा बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय ओखलढुंगाका अनुसार चालु तथा पूँजीगत दुवैतर्फको बजेटमा यस्तो ठूलो रकम खर्च नभई फ्रिज भएको हो ।
जिल्लामा सो अवधिमा कुल छ अर्ब २९ करोड ६१ लाख ५२ हजार २७७ रुपैयाँ बजेट विनियोजन भएको थियो । तर चालु र पूँजीगत दुवैतर्फ गरेर जम्मा पाँच अर्ब ६८ करोड २५ लाख ७८ हजार ६३२ रुपैयाँ ६८ पैसा मात्र खर्च गरिएको कोष नियन्त्रक सृजना आचार्यले जानकारी दिइन् ।
चालु खर्चतर्फ ४८ अर्ब ४५ करोड ७९ लाख ८२ हजार ७७ रुपैयाँ बजेट विनियोजन भएकोमा ४४ अर्ब ६२ करोड ९२ लाख ६ हजार १५० रुपैयाँ ५६ पैसा मात्र खर्च भएको हो । सो अनुसार चालु खर्चतर्फ ९२.१० प्रतिशत मात्र बजेट उपयोग गरिएको छ ।
यो खण्डमा ३८ करोड २८ लाख ७२ हजार १२६ रुपैयाँ ४४ पैसा बजेट खर्च हुन नसकी फ्रिज भएको कोष नियन्त्रक आचार्यले बताइन् ।
पूँजीगत खर्चतर्फ एक अर्ब ४५ करोड ३५ लाख ४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा एक अर्ब २१ करोड ९६ लाख ५२ हजार ४८२ रुपैयाँ १२ पैसा मात्र खर्च भएको छ । सो अनुसार पूँजीगततर्फ ८४.०९ प्रतिशत मात्र बजेट खर्च भएको देखिएको छ । २३ करोड ७ लाख एक हजार ५१७ रुपैयाँ ८८ पैसा फ्रिज भएको छ ।
चालु र पूँजीगत दुवै मिलाएर जिल्लाले कुल ९०.२५ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रण कार्यालय ओखलढुंगाले जनाएको छ । बाँकी ६१ करोड ३५ लाखभन्दा बढी रकम खर्च नभई राज्यकोषमा फिर्ता गएको हो ।
अघिल्ला वर्षहरूसम्म पनि नियमितरूपमा बजेट फ्रिज हुँदै आएको पाइन्छ । समयमै योजना छनोट, ठेक्का प्रक्रिया र कार्यान्वयनमा ढिलाइ, प्रशासनिक जटिलता तथा समन्वय अभाव जस्ता कारणले बजेट फ्रिज भएको बताईएको छ ।

प्रतिक्रिया