चम्पादेवीको वडामै राष्ट्रिय परिचयपत्र दर्ता

भिजन समाचार
44
Shares

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले नागरिकलाई सहज, छिटो र पहुँचयोग्य सेवा दिन वड तहमै राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन गरेको छ । साउन १२ गतेबाट सुरु गरिएको शिविरमार्फत हालसम्म वडा नं. १ मा २२४ जनाले सेवा लिइसकेको गाउँपालिकाले जनाएको छ ।

शिविरमा ९७ जनाले नयाँ राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । १२७ जनाले आफ्नो विवरण चेकजाँच गराएका छन् । गाउँपालिकाका प्रशासकीय अधिकृत धनराज श्रेष्ठका अनुसार बर्खाको समयमा सदरमुकामसम्म पुग्न कठिन हुने भएकाले नागरिकलाई सेवा नपाएर पछि पर्न नपरोस् भन्ने उद्देश्यले गाउँमै शिविर सञ्चालन गरिएको हो ।

हाल शिविर सञ्चालन भइरहेको छ भने पालिकाका सबै १० वटै वडामा क्रमशः सेवा विस्तार गरिने योजना रहेको गाउँपालिकाले जानकारी दिएको छ । शिविर सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय र पञ्जिकरण विभागसँग समन्वय गरिएको पनि पालिकाले जनाएको छ ।