रुखमै पाक्ने, स्वादिलो र बहुपयोगी फलमध्ये रुख कटहर ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१, तलुवा क्षेत्रमा प्रसस्तै उत्पादन हुन्छ । बजार अभाव, ढुवानी समस्या र सरकारी बेवारले मुल्य नपाई खेर गईरहेको छ ।
तलुवाका अधिकांश घरआँगनमा कटहरका बोट छन् । ती रुखहरूमा हरेक वर्ष सयौंको सङ्ख्यामा कटहर फल्छन् । तर, बिक्री व्यवस्थापन नहुँदा फलहरू बजारसम्म पुग्न नसकेको स्थानीय दिपेन्द्र घिमिरेले बताए । उनकोमा पाँच वटा कटहरका रुख छन् । ‘‘बर्षेनी पाँच सयदेखि छ सय वटा कटहर फल्छ, आफन्तलाई दिदा र गाई–बस्तुलाई खुवाउँदा पनि सकिँदैन,’’ घिमिरेले भने, ‘‘धेरै कटहर त बोटमै कुहिन्छन् । यदि बिक्री हुने अवस्था भए, एउटा कटहरबाट मनग्ये आम्दानी लिन सकिन्थ्यो ।’’
यस्तै, अर्का कृषक हर्कबहादुर घिमिरेलेकोमा हरेक वर्ष करिब चार सय कटहर फल्छ । उनको पनि समस्या र गुनासो दिपेन्द्रको जस्तै छ । यो समस्या तलुवाबासीको साझा समस्या हो । उनिहरुले कृषि संकलन केन्द्रमार्फत बजार पठाउने प्रयास गरे पनि सीमित बजार, गाडीको असहयोग र ढुवानी समस्याका कारण त्यो प्रयास पनि सफल हुन सकेन ।
वडा अध्यक्ष तिर्थ घिमिरेका अनुसार कटहरको उत्पादन बढ्दो छ तर बजार व्यवस्थापन र ढुवानीको संरचनागत समस्या हुँदा कृषकले आम्दानी लिन सकेका छैनन् । कृषि उपज संकलन साथै विक्रीको लागि वडा कार्यालय र सहास नेपालको सह लगानीमा संकलन तथा विक्री केन्द्र सञ्चालनमा ल्याइएको भए पनि सिमित उल्लेख्य मात्रामा निर्यात गर्न नसकिएको वडा अध्यक्ष घिमिरेको भनाई छ ।
गाउँमा प्रति किलो ५० रुपैयाँ देखी १०० दरले विक्रि हुने कटहरको बजार करिब दुई सय प्रति किलोका दरले विक्री हुने गरेको छ ।

प्रतिक्रिया