सुरक्षा प्रवर्धन र अपराध नियन्त्रणको उद्देश्यले ओखलढुंगाको सदरमुकाम क्षेत्रलाई सिसी क्यामेराको निगरानीमा ल्याइएको छ । सिद्धिचरण नगरपालिकाले बजार क्षेत्रका प्रमुख स्थानमा सिसी क्यामेरा जडान गरेर निगरानी थालेको हो ।
बजार क्षेत्रका मुख्य चोकहरू, सरकारी कार्यालय वरपर, बैंक, भीडभाड हुने स्थान र जोखिमयुक्त क्षेत्रहरूमा सिसी क्यामेरा जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार केही वर्ष अघि १० लाख रुपैयाँको लागतमा जडान गरिएका क्यामेराहरू चट्याङ लगायतका कारण बिग्रिएपछि पुनः २ लाख ७४ हजार १४९ रुपैयाँ खर्च गरेर मर्मत गरिएको हो । हाल अधिकांश क्यामेरा मर्मत भइसकेका छन् भने दुई वटा अझै मर्मत प्रक्रियामा छन् ।
नगरपालिकाका मेयर तेजन खनालले आधुनिक प्रविधिको प्रयोगबाट शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सिसी क्यामेराले बजार क्षेत्रको निगरानीलाई प्रभावकारी बनाउनुका साथै यसले आपराधिक गतिविधि नियन्त्रणमा टेवा पु¥याउने विश्वास रहेको मेयर खनालले बताए ।
जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक मदन केसीले सिसी क्यामेरा प्रणालीले अपराध पहिचान, ट्राफिक व्यवस्थापन, बजारको अवस्था नियाल्न र आपराधिक गतिविधि समयमै पत्ता लगाउन सहयोग पुगिरहेको बताए ।
हाल सिद्धिचरण नगरपालिका–१२ मा २० वटा र वडा नं. ११ मा १२ वटा सिसी क्यामेरा जडान गरिएका छन् । नगरपालिकाले आगामी दिनमा थप स्थानमा पनि क्यामेरा विस्तार गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया