ओखलढुंगामा बैंकिङ कसुरसम्बन्धी मुद्दा वर्षेनि बढ्दै गएका छन् । आर्थिक कारोबारमा विश्वासघात, चेक बाउन्स तथा ऋण असुलीसम्बन्धी समस्याहरूका कारण यस्ता मुद्दा बढेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै आठ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष २०८०/८१ मा पाँच वटा मात्रै यस्ता मुद्दा दर्ता भएका थिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा तीनवटा मुद्दा बढी छन्, जुन उल्लेखनीय वृद्धि भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय कार्कील बताए । प्रहरी निरीक्षक कार्कीका अनुसार चेक बाउन्स, साझेदारीका नाममा विश्वासघात तथा सामान वा सेवा लिएर भुक्तानी नगर्ने कार्यहरू बैंकिङ कसुरमा पर्ने गरेका छन् ।
अदालतसम्म पुगेका यस्ता मुद्दाहरूमध्ये अधिकांश फछ्र्योट भइसकेको र हाल फैसला कार्यान्वयनको चरणमा रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
यस्ता अपराधबाट जोगिन सर्वसाधारण र व्यवसायीहरूलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु जरुरी छ, अन्यथा कानुनी फन्दामा पर्न सकिने प्रहरीले जनाएको छ ।
प्रहरीले यस्ता प्रकृतिका अपराधमा अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । ओखलढुंगामा पछिल्लो समय व्यापारीक कारोबारमा कानुनी चेतना नहुँदा बैंकिङ कसुरका मुद्दा बढ्दो अवस्थामा छन् ।

प्रतिक्रिया