काठ र जडीबुटी निकासीबाट झन्डै तीन करोड राजश्व संकलन

भिजन समाचार
20
Shares
तस्वीर साैजन्य । डिभिजन वन कार्यालय ।

ओखलढुंगाबाट काठ र जडीबुटी निकासी मार्फत एक आर्थिक वर्षमा झन्डै तीन करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाबाट काठ र जडीबुटी निकासी गरी दुई करोड ९८ लाख ९० हजार ७४६ रुपैयाँ सरकारी राजश्व संकलन भएको डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको छ ।

डिभिजन वन कार्यालय ओखलढुंगाकी सूचना अधिकारी अस्मिता न्यौपानेका अनुसार सबैभन्दा धेरै राजश्व गोलिया काठ निकासीबाट संकलन गरिएको छ । उक्त शीर्षकबाट मात्रै दुई करोड ९५ लाख ५८ हजार २७८ रुपैयाँ राजश्व उठाइएको उनले जानकारी दिइन् ।

न्यौपानेका अनुसार जिल्लाबाट ९ लाख ८० हजार ७८८ क्युफिट गोलिया काठ निकासी भएको छ । उतिस, खयर, चिलाउने, मल्दो लगायतका काठको प्रजातिहरू बढी मात्रामा निर्यात भएका छन् ।

त्यस्तै, जडीबुटी निकासीबाट तीन लाख ३२ हजार ४६८ रुपैयाँ राजश्व संकलन भएको छ । कुल तीन लाख तीन हजार ७२६ किलोग्राम जडीबुटी जिल्लाबाट निकासी गरिएको कार्यालयले जनाएको छ । निकासी भएका प्रमुख जडीबुटीहरूमा सुगन्धवाल, लोक्ता, मजितो र चुत्त्रो रहेका छन् ।

वन पैदावारको समुचित व्यवस्थापन, संरक्षण र उपयोगबाट राज्यले आम्दानी बढाएको डिभिजन वन कार्यालयले जनाएको छ ।