ओखलढुंगाबाट पछिल्लो आर्थिक वर्षमा पाँच करोड बढी मूल्य बराबरको कृषिजन्य उपज निकासी भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाबाट कुल पाँच करोड ४६ लाख ६५ हजार रुपैयाँ बराबरको कृषिजन्य उपज बाहिरिएको हो ।
कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत टिका बानियाका अनुसार सबैभन्दा धेरै आलु निकासी भएको छ । दुई करोड ४३ लाख ७५ हजार रुपैयाँको ३५५ मेट्रिक टन आलु निकासी भएको बानियाको भनाई छ ।
त्यसैगरी, ६ दशमलव ६० मेट्रिक टन अलैंची एक करोड ३२ लाखमा, सुन्तला ५७ लाख ७५ हजार, १५ दशमलव ६० मेट्रिक टन अदुवा ३९ लाखमा र ५२ दशमलव ५० मेट्रिक टन आँप २६ लाख २५ हजार मूल्यमा अन्य जिल्लामा पठाइएको बानियाले जानकारी दिए ।
अन्य उत्पादनमा १६ मेट्रिक टन किवी १८ लाखमा, ५ दशमलव ३० मेट्रिक टन अकबरे खुर्सानी १५ लाख ९० हजारमा र ५ दशमलव ६९ मेट्रिक टन लेकाली सिमी १४ लाख मूल्यमा निकासी भएको छ ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार एक वर्षको अवधिमा जम्मा ५६१ दशमलव ६० मेट्रिक टन कृषिजन्य उपज जिल्ला बाहिरिएको छ । ओखलढुंगाबाट उत्पादित कृषिजन्य वस्तुहरू काठमाण्डौ साथै तराईका जिल्लाहरुमा बढी निकासी हुने गरेको छ ।
स्थानिय स्तरमा व्यावसायिक कृषि विस्तार भएसँगै जिल्लाको कृषि उपज उत्पादन र निकासी दुबै बढ्दै गएको बानियाले जानकारी दिए ।

प्रतिक्रिया