ओखलढुंगामा एक वर्षमा ८६ नयाँ उद्योग दर्ता

भिजन समाचार
32
Shares

ओखलढुंगामा पछिल्लो एक वर्षमा ८६ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका उद्योगहरूबाट २३२ जनाले रोजगारी पाएको अनुमान छ ।

दर्ता भएका उद्योगमध्ये ८३ वटा प्राइभेट फर्म, एक साझेदारी फर्म र दुई वटा प्राइभेट लिमिटेड कम्पनी रहेको कार्यालयका सूचना अधिकारी रुविना राईले बताईन् । ती उद्योगहरूबाट वार्षिक एक अर्ब ५८ करोड ६ लाख रुपैयाँ बराबरको उत्पादन हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

उद्योग दर्तासँगै जिल्लामा वाणिज्य फर्महरूको दर्ता र नविकरणमा पनि उल्लेखनीय वृद्धि देखिएको छ ।

पछिल्लो आर्थिक वर्षमा ४७ वटा नयाँ वाणिज्य फर्म दर्ता भएका छन् भने २८७ वटा वाणिज्य फर्मले नविकरण गराएका छन् ।

त्यस्तै, १७ वटा फर्म अद्यावधिक गर्ने उद्देश्यले विवरण पेश गरेका छन् । पाँच फर्मले नामसारी, दुई फर्मले स्थान परिवर्तन, २० फर्मले प्रतिलिपी लिएका छन् भने ४३ वटा फर्म खारेज वा लागत कट्टा भएका छन् ।

यस अवधिमा आठ वटा फर्मले पूँजी वृद्धि गरेका छन्, जसबाट थपिएको पूँजी रकम एक करोड २६ लाख रुपैयाँ पुगेको छ । स्थानीय तहको सक्रियता, सहजीकरण र उद्यमशीलता प्रवद्र्धन गर्ने प्रयासका कारण जिल्लामा उद्योग दर्ता तथा पूँजी प्रवाहमा सुधार देखिएको कार्यालयले जनाएको छ ।