विक्री केन्द्र बने पनि सडकमै व्यापार गर्न छाडेनन् ओखलढुंगाका कृषक

भिजन समाचार
96
Shares
हटियामा तरकारी विक्री गर्दै कृषकहरु । तस्वीर-भिजन समाचार

सिद्धिचरण नगरपालिकाले कृषकका लागि लाखौँ खर्चेर कृषि उपज विक्री केन्द्र निर्माण गरे पनि कृषक तथा व्यापारीहरू अझै मुख्य सडक किनारमै बसेर व्यापार गरिरहेका छन् । हटिया क्षेत्रमा नगरपालिकाले विभिन्न आर्थिक वर्षमा गरी ३५ लाखभन्दा बढीको लगानीमा विक्री केन्द्र बनाएको थियो ।

सडक छेउमै तरकारी, फलफूल र अन्य सामान बेचिरहेका विगुटारकी कृषक किली शेर्पाले सडकमा व्यापार गर्दा ग्राहकको भिड हुने र छिटो सामान विक्री हुने भएकाले आफू सडकमै बसेर व्यापार गर्न बाध्य भएको बताइन् । विक्री केन्द्रमा स्थानको अभावका कारण कोचाकोच गरेर व्यापार गर्नुपर्ने भएकाले पनि कृषक सडक रोज्ने गरेको उनको भनाइ छ ।

ज्यामिरेका केन्द्र बहादुर खड्का, विप्लाटेकी लमु शेर्पा र इन्द्र बहादुर मगर लगायतका कृषकहरू पनि आवागमन सजिलो हुने, व्यापार छिटो चल्ने, विक्री केन्द्रमा ठाउँ कम हुनेजस्ता कारण देखाउँदै सडक किनारमै व्यापार गर्न बाध्य भएको बताउँछन् ।

अधिकांश तरकारी उत्पादक कृषकहरुले पुनः सडकमै बसेर कृषि उपज विक्री गरेका छन् । घाम पानीमा कृषकहरुलाई सहज होस र हटियामा व्यापार व्यावसाय व्यवस्थित रुपले सञ्चालन होस भन्ने उद्देश्यले ट्रस्टको विक्री केन्द्र बनाएको भए पनि विभिन्न कारण देखाउँदै व्यापारीहरु सडक किनारमै बसेर व्यापार गरिरहेको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताए ।

नगरपालिकाले नगर प्रहरी मार्फत सडक किनारमा व्यापार नगर्न आग्रह गर्दै धेरै पटक हटाए पनि कृषक तथा व्यापारीहरुले अटेर गरेको प्रमुख खनालको भनाई छ । सडक अवराेध गरेर कृषकहरुले उपज विक्री गर्दा सवारी साधन सञ्चालनमा समस्या हुने गरेकाे छ ।

हाल भइरहेको विक्री केन्द्रले पनि व्यापारीहरुलाई ठाउँ पुग्ने बताउँदै उनले अझै नगरपालिकाले कृषकहरुको लागि आउँदो हिउँदे सभामा विक्री केन्द्रको संरचना बनाउन बजेट व्यवस्थापन गर्ने तयारी गरेको नगरपालिकाले  जनाएको छ ।