ओखलढुंगामा कर संकलनदरमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ३१ करोड ९७ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरिएकोमा २०८१/०८२ मा उक्त रकम बढेर ३५ करोड ६० लाख ६० हजार रुपैयाँ पुगेको करदाता सेवा कार्यालय ओखलढुंगाले जनाएको छ ।
कार्यालय प्रमुख अरविन्द रानाभाटका अनुसार सो अवधिमा करिब ३ करोड ६२ लाख ७० हजार रुपैयाँले कर संकलन वृद्धि भएको हो । आर्थिक वर्ष २०८१/०८२ का लागि ४२ करोड ७४ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा त्यसको ८३ प्रतिशत मात्र संकलन भएको उनले बताए ।
सबैभन्दा धेरै आयकरबापत २३ करोड ७९ लाख ४४ हजार रुपैयाँ संकलन गरिएको छ । यस्तै, मूल्य अभिवृद्धि कर बाट ११ करोड ३६ लाख ९६ हजार र अन्तःशुल्कबाट ४४ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।
कार्यालयले पछिल्लो समय करको दायरा बढाएको, करप्रति जनचेतना फैलिएको र करदाताहरू व्यवस्थित हुँदै गएकाले संकलनदरमा वृद्धि भएको जनाएको छ । प्रमुख रानाभाटले नागरिकको सुरक्षादेखि सेवा–सुविधासम्मका लागि राज्यले खर्च गर्ने रकम करमार्फत नै जुट्ने भएकाले कर तिर्नु सबै नागरिकको कर्तव्य रहेको बताए ।
उनले कर छलि गरेमा कानुनी कारबाही हुने व्यवस्था पनि रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
करदाता सेवा कार्यालय ओखलढुंगाबाट स्थायी लेखा नम्बर (प्यान) दर्ता, नविकरण, अन्तःशुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा उपलब्ध छन् । कार्यालयले सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुंगा र सोलुखुम्बुका सबै स्थानिय तहलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया