जिल्ला हुलाक कार्यालय ओखलढुंगाले आर्थिक वर्ष २०८१/०८२ मा करिब पाँच लाख रुपैयाँ बराबरको हुलाक टिकट बिक्री गरेको छ । कार्यालयका अनुसार एक वर्षको अवधिमा चार लाख ९९ हजार ८९९ रुपैयाँको टिकट बिक्री गरिएको हो ।
उक्त अवधिमा कार्यालयमा चिठ्ठी तथा वस्तु दर्ता संख्या सात हजार १३९ पुगेको छ । यस्तै, वस्तु आयात संख्या पाँच हजार ५१७, वस्तु निर्यात संख्या तीन हजार ४७३ र हुलाक वस्तु संख्या आठ हजार ८३३ रहेको कार्यालयका सूचना अधिकारी सुजन घिमिरेले जानकारी दिए ।
त्यस्तै, कार्यालयले विदेशतर्फ पठाइएका ६ वटा दर्ता वस्तु र विदेशबाट प्राप्त ४३ वटा वस्तु वितरण गरेको छ । अन्य जिल्लाबाट प्राप्त भई अन्य जिल्लामा पठाइएका एक हजार ५१८ र सोही अवधिमा अन्य जिल्लाबाट प्राप्त भई जिल्लाभित्र वितरण गरिएका तीन हजार ९९३ वटा पार्सल वितरण गरिएको छ ।
अघिल्लो आर्थिकमा दर्ता संख्या छ हजार ३६०, आयात पाँच हजार ७९५, निर्यात चार हजार ७६ र हुलाक वस्तु संख्या आठ हजार ९६ रहेको थियो । यस वर्ष हुलाक वस्तुको दर्ता संख्या वृद्धि भएको कार्यालयले जनाएको छ ।
त्यस्तै, कार्यालयले पार्सल सेवाबाट पाँच हजार ७९५ रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्लाका सातै स्थानीय तहमा सात वटा हुलाक शाखा र तीनवटा हुलाक टिकट काउन्टर सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया