ओखलढुंगामा लाखे जात्रा विधिवत सुरु

भिजन समाचार
50
Shares
पुजा गरेर जात्रा सुरु गर्दै स्थानिय अगुवा । तस्वीर- भिजन समाचार

नेवारी समुदायको महत्वपूर्ण साँस्कृतिक पर्व लाखे जात्रा ओखलढुंगामा विधिवत रूपमा सुरु भएको छ । जिल्ला सदरमुकामको तीनवटै स्थानमा श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाइएसँगै लाखे जात्राको सुरुवात गरिएको हो ।

जनहित गुठी गणेशटोल, पारस्पारिक सहयोगी गुठी रामबजार, र जनसेवा गुठी रमाइलोडाँडाले विधिपूर्वक जात्राको थालनी गरेका छन् ।

नेवारी समुदायको बाहुल्यता रहेका जिल्लाका अन्य क्षेत्रहरूमा पनि गठेमंगलको पूजा गरी जात्रा प्रारम्भ गरिएको जनहित गुठीका अध्यक्ष ध्रुवकुमार राजभण्डारीले जानकारी दिए ।

यसबर्ष जनहित गुठीले परम्परागत रोपाइँ जात्रा ननिकाल्ने निर्णय गरेको छ । अध्यक्ष राजभण्डारीका अनुसार, रोपाइँ जात्रा सञ्चालन गर्न ठूलो जनशक्ति, कलाकार र खर्च आवश्यक पर्ने भएकाले आर्थिक र जनशक्ति अभावका कारण जात्रा ननिकाल्ने निर्णय गरिएको हो ।

यद्यपि, रमाइलोडाँडाको जनसेवा गुठी र रामबजारको पारस्पारिक सहयोगी गुठीले रोपाइँ जात्रा निकाल्ने विषयमा छलफल भइरहेको जनसेवा गुठीका अध्यक्ष सानुबाबु खड्का र पारस्पारिक सहयोगी गुठीका पेशल राजभण्डारीले बताए ।

गठेमंगल पर्वबाट सुरु भएको लाखे जात्राको क्रममा एक महिनासम्म गाईजात्रा, कृष्णजन्माष्टमी जात्रा, रोपाइँ जात्रा लगायत विविध परम्परागत जात्रा प्रदर्शन गरिने परम्परा छ ।