अझै बालविवाह : ओखलढुंगामा ११७ किशोरी आमा बने

सांकेतिक तस्वीर

नेपालमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न कानुनी रूपमा निषेध गरिएको छ । तर व्यवहारमा भने ओखलढुंगामा बालविवाह कायमै रहेको तथ्यांकले देखाएको छ । जिल्लाका ११७ जना किशोरी २० वर्ष नपुगी आमा बनेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २० वर्षभन्दा कम उमेरमा आमा बनेका किशोरीको संख्या ११७ पुगेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा ‘बालविवाह गर्न नहुने’ उल्लेख छ । तर, जिल्लाको आठवटै स्थानीय तहमा किशोरी आमा बन्ने घटनाले कानुनको कार्यान्वयनप्रति गम्भीर प्रश्न उठाएको छ ।

सबैभन्दा धेरै बालविवाह सिद्धिचरण नगरपालिकामा भएको देखिन्छ, जहाँ ६७ जना किशोरी आमा बनेका छन् । त्यसपछि चम्पादेवी गाउँपालिकामा १४, मानेभञ्ज्याङमा ९, खिजिदेम्बामा ८, चिशंखुगढीमा ७, सुनकोशीमा ६ र मोलुङ तथा लिखु गाउँपालिकामा ३–३ जना किशोरी सुत्केरी भएका छन् ।

अघिल्लो वर्षको तुलनामा यो संख्या केही घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा १३८ किशोरी आमा भएका थिए । यद्यपि यो सुधार पर्याप्त छैन भन्ने तथ्यले यो वर्ष पनि साङ्ख्यिकीय रूपमा तीन अङ्कको संख्या कायम रहनुबाट स्पष्ट हुन्छ ।

जिल्ला अस्पताल रुम्जाटार, ओखलढुंगा सामुदायिक अस्पताल र स्थानीय तहका बर्थिङ्ग सेन्टरमा सुत्केरी भएका सुत्केरीको विवरणबाट यो तथ्यांक तयार गरिएको हो ।

बालविवाह गरेर यति ठूलो संख्यामा किशोरी सुत्केरी भए पनि कानुनी कारवाही भने शून्यप्रायः देखिन्छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय कार्कीका अनुसार पछिल्ला दुई आर्थिक वर्षमा बालविवाह सम्बन्धी कुनै उजुरी प्रहरीमा दर्ता भएको छैन ।

बालविवाहको घटना सतहमा नआए पनि व्यवहारमा कायमै रहेको देखिन्छ । यसले कानुनी व्यवस्था मात्र पर्याप्त नभई सामाजिक चेतना अभिवृद्धि र जिम्मेवार निकायहरूको प्रभावकारी अनुगमनको खाँचो रहेको संकेत गर्छ । कानुनी कार्यान्वयनसँगै स्थानीय तह, विद्यालय र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नु अहिलेको आवश्यकता देखिन्छ ।