ओखलढुंगामा ट्राफिक राजश्व संकलन दरमा लगातार वृद्धि


ओखलढुंगामा ट्राफिक कार्यालयबाट संकलन हुने राजश्वमा पछिल्ला तीन आर्थिक वर्षमा लगातार वृद्धि देखिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले वर्षेनी राजश्व संकलन दरमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ३४९ सवारी साधनलाई कारबाही गरी ५८ लाख २३ हजार २०५ राजश्व संकलन गरिएको कार्यालयका प्रहरी सहायक हवल्दार नारायण बहादुर बस्नेतले जानकारी दिए ।

यस अवधिमा सबैभन्दा धेरै कारबाहीमा परेका सवारी साधनमध्ये ३ हजार ४३५ वटा जीप र कार, १ हजार १८४ मोटरसाइकल, १ हजार ५० ट्रक, ३१९ बस, १७४ ट्रिपर, १३५ ट्रयाक्टर र ५२ अटो रहेका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ६ हजार ४६३ वटा सवारी साधनलाई कारबाही गरी ४६ लाख ९४ हजार ५०० संकलन गरिएको थियो ।

कारबाहीमा परेका सवारीमध्ये जीप र कार ३ हजार ३३०, मोटरसाइकल १ हजार २८१, बस ३४९, ट्रिपर २७८, ट्रयाक्टर १४६, ट्रक १०१ र अटो ६८ वटा थिए ।

आर्थिक वर्ष २०७९/८० मा भने ६ हजार सवारी साधन कारबाहीमा परेका थिए, जसबाट ४२ लाख ५१ हजार राजश्व संकलन भएको थियो ।

उक्त वर्ष २ हजार ७२१ जीप÷कार, १ हजार ८१२ मोटरसाइकल, २१२ बस, ३०७ ट्रिपर, १५४ ट्रयाक्टर, ७४० ट्रक र ४९ अटो कारबाहीमा परेका थिए ।

कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कडाइका साथ कारबाही, सवारी साधनको संख्यामा वृद्धि, र जनचेतनाको अभाव जस्ता कारणले राजश्व संकलन दर वर्षेनी बढ्दो क्रममा छ ।

खासगरी क्षमता भन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट वा सिट बेल्ट नलगाउने, सवारी कागजात नबोक्ने, तीव्र गति तथा बढी भाडा लिने जस्ता कार्यमा संलग्न चालक तथा सवारी साधनलाई कारबाही गरिएको ओखलढुंगा ट्राफिक कार्यालयले जनाएको छ ।