फिल्ड रेखाङ्कनले बढायो नापी कार्यालयको राजस्व

भिजन समाचार
166
Shares
नापि कार्यालय ओखलढुंगा । तस्वीर: भिजन समाचार

ओखलढुंगाको नापी कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले राजस्व वृद्धि गर्न सफल भएको छ । कार्यालयले गत आर्थिक वर्षमा कुल २९ लाख १५ हजार १२० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्ष २० लाख ३२ हजार ४९० रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

राजस्व वृद्धिको मुख्य कारणको रूपमा फिल्ड रेखाङ्कनको सक्रियता देखिएको छ । कार्यालयका सूचना अधिकारी तेज बहादुर खड्काका अनुसार, स्थानीय तहसँगको सहकार्यमा फिल्ड रेखाङ्कन कार्यमा अनिवार्य शुल्क लागू गरेपछि राजस्व उल्लेखनीय रूपमा बढेको हो ।

गत वर्ष ५५० वटा फिल्ड रेखाङ्कन कार्य सम्पन्न गरिए, जसबाट मात्रै २३ लाख ६० हजार ६६० रुपैयाँ राजस्व संकलन गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै ८ लाख बढी हो । अघिल्लो आवमा ३८६ वटा मात्र रेखाङ्कन कार्यबाट १५ लाख ७७ हजार ५१० रुपैयाँ संकलन भएको थियो ।

त्यसैगरी, नक्सा बिक्रीबाट पाँच लाख ५३ हजार ६० र कित्ता एकीकरणबाट एक हजार ४०० रुपैयाँ राजस्व संकलन गरिएको छ । नक्सा बिक्री २ हजार ५१२ ओटा पुगेको छ भने कित्ताकाट सम्बन्धी ७६७ वटा कार्य सम्पन्न भएका छन्, जसमा १८८ वटा राजीनामा, ११४ अंशबण्डा र १४ वटा अदालतका निर्णय समावेश छन् ।

नापी कार्यालयले दिएको तथ्यांक अनुसार, अघिल्लो आवमा नक्सा बिक्री १ हजार १२३, फिल्ड रेखाङ्कन ३८६ र कित्ता एकीकरण १६ मात्र थियो ।

यसले नापी कार्यालयको सेवा विस्तार र स्थानीय तहसँगको समन्वय राजस्व वृद्धिको प्रमुख कारक रहेको देखिएको छ । आगामी वर्षमा समेत यस्ता सहकार्यलाई निरन्तरता दिइएमा राजस्व सङ्कलनमा थप प्रगति हुने अपेक्षा गरिएको छ ।