ओखलढुंगाका १०७ युवालाई सिपमूलक तालिम प्रदान

भिजन समाचार
44
Shares

रोजगारीको खोजीमा बाहिरिनुपर्ने बाध्यता झेलिरहेका ओखलढुंगाली युवाहरु अब स्वदेशमै स्वरोजगारको बाटो रोज्न थालेका छन् । घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका सिपमूलक तालिम कार्यक्रम मार्फत १०७ जनाले नयाँ सीप सिकेका छन् ।

कार्यालयले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकासँग समन्वय गर्दै सञ्चालित १० वटा तालिम कार्यक्रमबाट सहभागी युवामा आत्मनिर्भरता र उद्यमशीलताको भावना पलाएको छ । कार्यालय प्रमुख मोनराज भट्टराईका अनुसार सिद्धिचरण नगरपालिका सहित चिशंखुगढी, मोलुङ, सुनकोशी, लिखु र खिजीदेम्बा गाउँपालिकामा कम्प्युटर, पत्रकारिता, हाउस वायरिङ, ढाका बुनाई, साबुन बनाउने लगायतका तालिम सञ्चालन भएका हुन् ।

तालिममा विशेषगरी ग्रामीण क्षेत्रका युवाहरुको सहभागिता उल्लेखनीय रहेको देखिएको छ । चिशंखुगढी–२ र ३ बाट २५ जना ‘उद्यमशीलता विकास’ तालिममा सहभागी हुँदा, सिद्धिचरण–११ मा सञ्चालित पत्रकारिता र कम्प्युटर ट्याली तालिममा २६ जना सहभागी भएका थिए ।

त्यस्तै, मोलुङ–१ मा एडभान्स कम्प्युटर तालिम लिँदा १५ जना सहभागी भए भने खिजीदेम्बा–५ मा सञ्चालित साबुन बनाउने तालिममा १० जना सहभागी भएका थिए । हाउस वायरिङ र आधारभूत कम्प्युटर तालिमका लागि सिद्धिचरण–५ र लिखु–६ बाट २० जना सहभागी भएका थिए ।

सीप सिकाएर युवालाई विदेश पलायन हुनबाट रोक्ने र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले यस्ता तालिम कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ ।