ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दम्पतिलाई एक लाख सहित सम्मान गरेको छ । जातिय छुवाछुतलाई व्यवहारिक रुपले अन्त्य गर्न पालिकाको घोषित कार्यक्रम अनुसार यस वर्ष अन्तरजातीय विवाह गर्ने एक दम्पतीलाई पालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाले अन्तरजातिय विवाह गर्ने चिशंखुगढी गाउँपालिका–२ का अनिल परियार र सिद्धिचरण नगरपालिका–११ की इन्दिरा तामाङ दम्पतीलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेको हो ।
सभा, समारोह, गोष्ठी, नारा र भाषणले मात्र छुवाछुत अन्त्य नहुने भएकाले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने र छुवाछुत मुक्त समाज बनाउने लक्ष्य अनुसार १ लाख नगदसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । उनका अनुसार गाउँपालिकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षबाट दलित र गैरदलित बीच विवाह गर्ने जोडीलाई नगदसहित सम्मान गर्न कार्यविधि नै बनाएर लागू गरेको छ ।
चिशंखुगढीको ‘दलित र गैरदलितबीच हुने अन्तरजातीय विवाह प्रोत्साहन सम्बन्धी कार्यविधि–२०८१’ मा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न नगदसहित सम्मान गरेर समुदायमा स्थापित गराउने उल्लेख छ । पालिकाले हरेकवर्ष यस्तो विवाह गर्नेको विवरण सूचिकृत गर्ने र आवेदन माग गर्दा सूचिकृत भएकालाई भव्य रुपमा सम्मान गर्ने गरेको छ ।

प्रतिक्रिया