ओखलढुङ्गा प्रहरीले सुराकी बढायो, ११ महिनामा ६३ फरार प्रतिवादी पक्राउ

भिजन समाचार
196
Shares

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले ११ महिनामा ६३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को साउन देखि हालसम्म प्रहरीले ६३ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाली बेईज्जति मुद्दाका आठ जना, कुटपिट मुद्दाका छ जना, बालयौन दुरुपयोग मुद्दाका दुई जना, कर्तव्य ज्यान मुद्दाका दुई जना, बहु–विवाह मुद्दाका एक जना, हाडनाता करणी मुद्दाका एक जना, जबरजस्ती करणी मुद्दाका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले भिजनलाई जानकारी दिए । 

त्यस्तै अभद्र व्यवहार मुद्दाका २२ जना, चोरी मुद्दाका दुई जना, सवारी ज्यान मुद्दाका एक जना, कुटपिट–लुटपाट मुद्दाका तीन जना, बाली–लुटपिट मुद्दाका चार जना, बैंकिङ कसुर मुद्दाका दुई जना, लिखित बेईज्जति मुद्दाका एक जना, भष्टचार (नक्कली प्रमाणपत्र) मुद्दाका एक जना र केही सार्वजानिक अपराध मुद्दाका चार जना फरार अभियुक्त पक्राउ परेका छन् ।

विभिन्न मुद्दामा फरार रहेका ६३ जना अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । पक्राउ परेकाहरूमा अदालतबाट फैसला भइसकेका तर विगतदेखि फरार रहँदै आएका अभियुक्तहरू रहेका छन् ।

उनीहरूबाट कुल ५० वर्ष नौं महिना नौं दिनको कैद सजाय कार्यान्वयन गरिएको छ भने ११ लाख ७९ हजार ७६४ रुपैयाँ ६६ पैसा बराबरको जरिवाना रकम असुल गरिएको छ ।

प्रहरीले फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी सक्रिय रूपमा निगरानी तथा पक्राउ अभियान सञ्चालन गरिरहेको छ ।

अभियुक्तको खोजी, सूचना संकलन तथा सुराकी प्रणालीलाई प्रयोग गरी निर्णय कार्यान्वयनमा तीव्रता दिइएको प्रहरीले जनाएको छ ।