ओखलढुंगामा कोरोना विरुद्धको बुस्टर डोज खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लामा यहि जेठ २९ गते देखि ३१ गतेसम्म १२ बर्ष माथिका ३० हजार ३ सय ९२ जनालाई खोप लगाइने भएको हो ।
मंगलबार जिल्ला खोप समन्वय समितिको बैठकले कोरोना विरुद्धको महामारी प्रतिकार्य योजना अनुरुप बुस्टर डोज खोप अभियान प्रभावकारी बनाउने निर्णय गरेको हो ।
पछिल्लो समय फेरी कोरोनाको संक्रमण बढीरहेका अवस्थामा जिल्लाका ८ वटै स्थानीय तहका ७५ वटै वडामा खोप अभियान सञ्चालन गर्ने तयारी गरिएका जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका खोप निरीक्षक उमा गुरुङले जानकारी दिइन् । उनका अनुसार अभियानका लागि जिल्लामा २ सय २८ वटा खोप केन्द्र तोकिएको छ भने २ सय २८ जना खोप दिने स्वास्थ्यकर्मी र ४ सय ५६ जना स्वंयसेवक परिचालन गरिने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकालको संयोजकत्वमा बसेको बैठकमा खोप अभियान सञ्चालन, अनुगमन निरीक्षण र व्यवस्थापनबारे छलफल भएको थियो ।
खोप सुरक्षित र प्रभावकारी रहेकोले ढुक्क भएर खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जिल्लाबासी नागरिकलाई आग्रह गरेको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी ढकाल, जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराई, जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा र जिल्ला अस्पतालका प्रमुख एवम् प्रतिनिधि, पत्रकार र सरोकारवालाको उपस्थिती थियो ।

प्रतिक्रिया