ओखलढुंगाबाट २१ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । चालु आर्थिक बर्षको १० महिनाको अवधिमा २१ गर्भवती सुत्केरीको उद्दार गरिएको हो ।
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सुत्केरी हुन नसकेका तथा सुत्केरी अवस्थामा जटिल समस्या भएका गर्भवती सुत्केरीको हेलीकप्टर मार्फत उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत अनुप पौडेलले भिजनसँग बताए । उद्दार गरिएका सबै गर्भवती–सुत्केरीलाई काठमाण्डौका विभिन्न अस्पतालमा रेफर गरिएको पौडेलको भनाई छ ।
ज्यान उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्दार कार्यक्रम प्रभावकारी बनेको छ ।
सुविधा सम्पन्न अस्पतालमा उपचार नगरिए ज्यानै जान सक्ने सम्भावना भएका गर्भवती तथा सुत्केरीलाई स्थानिय तहका अध्यक्ष, उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र खबरका आधारमा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्दार भईरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।
हवाई उद्धार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७७ असोज ११ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भइ कार्यान्वयनमा रहेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्ला स्तरीय आमा समुह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीको भनाई छ । ‘पहिला–पहिला दुर्गमका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । अहिले हवाइ उद्दार सेवा पाएपछि आमा र शिशुको ज्यान बचेको छ ।’ उनले भनिन्, ‘यो कार्यक्रम निकै प्रभावकारी छ । आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा योजना बनाउँदा सरकारले दुर्गमका नागरिकलाई केन्द्रमा राख्यो भने राम्रो हुन्छ भन्ने सन्देश पनि यसले दिएको छ ।’ विगतमा महंगोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लैजान सक्नेहरुले उपचार पाउने त्यसो गर्न नसक्नेहरु उपचार अभावमा अकालमा मृत्यु सहन बाध्य हुने अवस्था थियो ।

प्रतिक्रिया