ओखलढुंगाको जन्तरखानी स्थित नवज्योती माध्यमिक विद्यालयले छात्रवास सञ्चालन गरेको छ । टाढाबाट आउने विद्यार्थीको सुविधाको लागि छात्रावास सञ्चालन गरिएको हो ।
जर्मनी ईन्डरइन ओखलढुंगा संस्थाले वि.सं. २०५६ सालमा तालिम केन्द्रको रूपमा निर्माण गरेको भवनलाई विद्यालयले ४० जना विद्यार्थी अटाउने छात्रावास सुरु गरेको हो ।
यस अघि तालिम केन्द्रको रुपमा रहेको उक्त भवनलाई विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा स्थानीय सहयोगी दाताको आर्थिक सहयोग र पहलमा छात्रावासको रूपमा उपयोगमा ल्याइएको विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर मगरले भिजनसँग बताए । विद्यालयमा टाढा–टाढाबाट आउने विद्यार्थीहरूको लागि छात्रावास आवश्यक भएको र समुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याइएको उनको भनाई छ ।
उक्त भवनमा छात्रावासका लागि १० कोठा रहेका र जसमा ४० जना विद्यार्थी बस्न सक्ने व्यवस्था गरिएको छ ।
भौगोलिक दुरिका कारणले विद्यार्थीहरुको शिक्षामा असर पर्ने देखिएपछि शैक्षिक गुणस्तरमा वृद्धि र विद्यार्थीको सुविधाका लागि छात्रावासको सुरुवात गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशर बहादुर मगरले बताए ।
बालकक्षा देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल १५५ जना विद्यार्थी अध्ययनरत छन् ।
विहिबार एक कार्यक्रमका बीच छात्रवास उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रमको अवसरमा विद्यालयमा वैकल्पिक ऊर्जाको रूपमा दुई किलोवाट क्षमता भएको पाँच लाख बराबरको सौर्य ऊर्जा प्रणाली जडान गर्न पहल गर्ने समाजसेवी राजिव कट्वालाई विद्यालयले सम्मान गरेको छ । विद्युतको अभावमा पनि छात्रावास सञ्चालन गर्न समस्या हुने भएपछि विद्यालयको आग्रहमा कट्वालको पहलमा सोलार जडान गरिएको हो ।
समाजसेवामा सकृय इन्जिनियर युवा नेकपा एमालेका उपसचिव हुन् । उनले पछिल्लो समय सामाजिक काममा सकृयता बढाएका छन् ।
विद्यालयले शैक्षिक उन्नयनका लागि थस सहयोगको कार्यक्रम ल्याउन अपिल गरेको छ ।

प्रतिक्रिया