एकैवर्ष तीन जिल्लाका चार सय युवालाई सीपमुलक तालिम

भिजन समाचार
10
Shares

यसवर्ष ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका चार सय जना युवाले सीपमुलक तालिम लिएका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाले चालु आर्थिक वर्षमा तीन जिल्लाका चार सय जना युवालाई विभिन्न विषयको तालिम दिएको हो ।

नियमित र विशेष सीप विकास गरि १५ प्रकारका तालिमहरु मार्फत ४ सय जनालाई सीप सिकाइएको कार्यालय प्रमुख जितेन्द्र राईले बताए । युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिम कार्यक्रमहरु सञ्चालन भइरहेको उनको भनाई छ । ‘हाम्रो कार्यालयले ३ वटै जिल्लामा काम गर्छ । यो वर्ष ओखललढुङ्गा, सोलु र खोटाङमा गरेर १५ वटा तालिम चलाइयो त्यसबाट ४ सय जनाले सीप सिक्नुभयो ।’ उनले भने, ‘हामीले सीप सिकाएका युवालाई अनिवार्य उद्यमी बन्न प्रेरित गरेका छौं । कार्यालयको तर्फबाट थप क्षमता विकासका कार्यक्रमहरु ल्याउँछौं । सरकारी क्षेत्रबाट पाउने अन्य सहयोग र अनुदान जस्ता कार्यक्रममा पनि सहभागी हुनुस् तर सिकेको सीपको सदुपयोग गरेर उद्यमी बनेर आत्मनिर्भर बन्नुस् भनेका छौं । सरकारको लक्ष्य पनि सीप दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने नै हो ।’ कार्यालय प्रमुख राईका अनुसार यसवर्षका केहि तालिम सम्पन्न भइसकेका छन् भने केही सञ्चालनमा छन् ।

यसवर्ष आधारभूत कम्प्युटर, कटाई–सिलाई, कुक, केश श्रंगार, ढाका बुनाई, विद्युत जडान, सेक्युरिटी गार्ड, वेटर, मोबाइल मर्मत र कम्प्युटर डिप्लोमालगायतका तालिम सञ्चालन गरिएको छ ।

व्यवसायिक तथा सीप विकास केन्द्र ओखलढुङ्गाले चालु आर्थिक वर्षमा सीप मुलक तालिम सञ्चालन गर्न ७४ लाख ६४ हजार ८ सय रुपैयाँ बजेटको अख्तियारी पाएको थियो ।

केन्द्रले गत आर्थिक वर्ष २०८०÷०८१ मा ओखलढुंगाका ३३६ जनासहित ३ वटै जिल्लाका गरी ६८८ जनालाई सीपमुलक तालिम दिएको थियो ।

वर्षेनी सयौंको संख्यामा युवालाई समेट्दै सीप विकासले नियमित र विशेष सीप विकास अन्तर्गतका तालिमहरु दिँदै आएको छ । तर सीप सिकेकामध्ये केही मात्रै व्यवसायिक बनेका छन् । वर्षेनी फरक फरक विषयको तालिम लिने र केही नगर्नेहरुको संख्या बढी छ ।