युगकविको ११४ औं जन्मजयन्ती: जन्मथलोमा साहित्य मार्फत सिद्धिचरणको सम्झना

भिजन समाचार
64
Shares

युगकवि सिद्धिचरण श्रेष्ठको ११४ औं जन्मजयन्ती आज ओखलढुंगामा मनाइएको छ । नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि श्रेष्ठको योगदानलाई स्मरण गर्दै वि.सं. १९६९ साल जेठ ९ गते सिद्धिचरण श्रेष्ठ जन्मिएको ठाउँ सिद्धिचरण नगरपालिका–१२ मा विविध साहित्यिक कार्यक्रम गरेर उनको ११४ औं जन्मजयन्ती मनाइएको हो ।

निर्माणाधिन सिद्धिचरण पार्कमा युगकविको जन्मजयन्तीका अवसरमा कविता प्रतियोगिता, साहित्यिक विमर्श र स्मृति सभाको आयोजना गरिएको थियो ।

युगकविका छोरा रविचरण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्य मार्फत सिद्धिचरणको सम्झना गरिएको थियो ।

जन्मथलोमा कार्यक्रम गरेर बुबालाई स्मरण गर्न पाउनु सुखद् संयोग भएको युगकविका छोरा रविचरण श्रेष्ठले बताए । ‘पिताजीको ११४ औं जन्मजयन्ती उहाँ जन्मनुभएकै स्थानमा मनाउन पाउनु मेरो लागि अत्यन्त गौरव र गहिरो अनुभूतिको क्षण हो ।’ उनले सिद्धिचरण पार्कलाई थप व्यवस्थित बनाउँदै राष्ट्रिय गौरवको पर्यटकीय स्थलको रूपमा विकास गर्न आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा प्राज्ञ देवी नेपाल र साहित्यकार फडिन्द्र नेपालले युगकविको जीवन र साहित्यीक योगदान बारे चर्चा गरेका छन् । सिद्धिचरण श्रेष्ठले नेपाली कवितालाई क्रान्तिकारी ढंगले नयाँ धारमा डोर्याएको स्मरण गरेका छन् । सिद्धिचरणको साहित्यले सामाजिक चेतना, प्रेम, विद्रोह र राष्ट्रिय भावना पोख्ने काम गरेको र मेरो पियारो ओखलढुंगा कविता मार्फत जन्मभूमिलाई विश्वमा चिनाएको बताए ।

जिल्ला समन्वय समिति ओखलढुंङ्गाका प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलगायतका अन्य वक्ताहरूले युगकविको साहित्यिक योगदानलाई स्मरण गर्दै  ओखलढुंगालाई साहित्यिक पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने बताए । 

युगकविको जिल्लामा नवप्रतिभाको पहिचान र सम्मानका लागि कविता प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा रोश्नी राई प्रथम, भूमिका राई द्वितीय र प्रतिक्षा राना मगर तृतीय तथा सोनिया अधिकारी र एलिशा दाहालले सान्त्वना हुनुभएको छ ।

विजेताहरूलाई क्रमशः रु. ७,०००, रु. ५,००० र रु. ३,००० नगद पुरस्कार प्रदान गरिएको थियो भने सान्त्वना पाउने दुई जनालाई रु. २,०००, पुस्तक र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतियोगितात्मक कविता र कार्यक्रमका वत्ता कविहरुको सिर्जनामा सिद्धिचरणको सम्झना गरिएको थियो ।

सिद्धिचरण संग्रहालय समिति ओखलढुंगाका अध्यक्ष रुपेश शाक्यले सिद्धिचरणको जन्मभूमिलाई यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए ।  सिद्धिचरण पार्क क्षेत्रमा पूर्वाधार विकास र प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य राखिएको उनको भनाई छ । ‘सिद्धिचरणको पूर्णकदको सालिक बनाइयो । नजिकै निर्माणाधीन सिद्धिचरण संग्रहालय अन्तिम चरणमा पुगेको छ । केही पुरानो पहिचान दिने र केही आधुनिक परिचय दिने पूर्वाधार बनाउने काम अन्तिम चरणमा पुगेको छ ।’ शाक्यले भने, ‘विगतमा सिद्धिचरणको जन्मभूमिका आएर एउटा फोटो मात्रै खिचेर फर्कने पर्यटकहरु अहिले घण्टौं रम्ने वातावरण तयार पारिएको छ ।’ साहित्य, स्मृति र युगकविको जन्स्थानको संगमका रूपमा रहेको सिद्धिचरण पार्कमा आयोजित कार्यक्रमले नेपाली साहित्य जगतका मानिसलाई ओखलढुङ्गा आउन प्रेरित गर्ने वक्ताहरुको भनाई थियो ।

सिद्धिचरण श्रेष्ठको जन्मभूमिलाई साहित्यीक पर्यटकीय नगरका रुपमा विकास गर्ने उद्देश्यले ओखलढुङ्गा सदरमुकाममा श्रष्टापार्क समेत निर्माण गरिएको छ ।

सगरमाथाकोे प्रवेशद्धारमा रहेको ओखलढुङ्गा सदरमुकामको श्रष्टापार्कमा सवारी मार्फत सोलुखुम्बु र खोटाङको हलेसी घुम्न आउने पर्यटकहरु समेत आइपुग्नेक्रम बढेको छ ।

जीवनको अन्तिम समयमसम्म सक्रिय रहेका युगकवि श्रेष्ठको २०४९ जेठ २२ गते निधन भएको थियो । भौतिक रुपमा नरहेपनि युगकविसहितका स्रष्टाहरु सिर्जनामा सँधै बाँचिरहन्छन् । उनको काव्य प्रवृत्ति र धारलाई उनका कैयन साधकले पछ्याइरहेका छन् । सयौं कालजयी रचनामा सिद्धिचरण संधै अमर छन् ।