ओखलढुङ्गामा अपराध न्यूनिकरणका गर्न समुदाय–प्रहरी साझेदारी अभियान सुरु भएको छ । सामाजिक रुपमा निन्दनिय र कानूनी रुपमा दण्डनिय कार्यलाई निरुत्साहित गर्न जिल्लाको मोलुङ गाउँपालिकाबाट समुदाय–प्रहरी साझेदारी अभियानको थालनी गरिएको हो ।
समुदायमा सचेतना फैलाउने, कानूनी प्रावधानबारे नागरिकलाई जानकारी दिने र अपराध मुक्त सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले प्रहरी र सरोकारवाला निकायले अभियानात्मक रुपमा काम थालेका हुन् ।
समुदाय–प्रहरी साझेदारीको अभ्यास पहिलो चरणमा जिल्लाको पुरानो बजार बरुणेश्वर रामपुरमा केन्द्रीत गरिएको छ । यस क्षेत्रमा गरिएको अभ्यासबाट प्राप्त अनुभवका आधारमा जिल्लाभर यो अभियान पु¥याइने प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । बरुणेश्वर सेवा समाज रामपुर र ईलाका प्रहरी कार्यालयले थालेको यो अभियानले जिल्लामा सकारात्मक सन्देश प्रवाह गर्ने र अपराध न्यूनिकरणमा मद्दत पुग्ने उनको भनाई छ । ‘घटना भइसकेपछि अनुसन्धान र कारबाही गर्नु भन्दा त्यस्ता गैरकानूनी घटनाहरु घट्न नदिनु र गाँउघर समाजलाई सुरक्षित राख्नु हामी सबैको साझा दायित्व हो । सोही मर्म अनुसार यो अभियान सुरु भएको छ ।’ प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘समयको विकासक्रमसँगै अपराधका नयाँ स्वरुपहरु फेरिएका छन् । समाजलाई आक्रान्त बन्नबाट बचाउन नागरिककै महत्वपूर्ण भूमिका रहन्छ । प्रहरी र समुदाय साझेदारी भए पछि थप सकारात्मक सन्देश प्रवाह हुन्छ ।’ वडास्तरमा यो अभियान लैजानुपर्ने उनको भनाई छ ।
बरुणेश्वर सेवा समाज रामपुर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरको संयुक्त आयोजनामा लागुऔषध विरुद्ध सचेतनामुलक निबन्ध प्रतियोगिता, सडक नाटक र सचेतना बोर्ड राख्ने काम भइसकेको छ ।
विद्यार्थी मार्फत समुदायमा सचेतना जगाएर लागु औषध तथा अपराधका घटना न्यूनिकण गर्ने उद्वेश्यले योजनावद्ध कार्यक्रम राखिएको ईलाका प्रहरी कार्यालय बरुणेश्वरका प्रमुख एवम् प्रहरी निरीक्षक मनिष लुईटेलले बताए । नागरिक र समुदायको सुरक्षामा तैनाथहुने प्रहरीले समुदायसँगै साझेदारी गर्दा लक्ष्य अनुरुप कार्यसम्पादन गर्ने उनको भनाई छ ।
रामपुर बजार क्षेत्रमा दुव्र्यसन र कुलत विरुद्धका सचेतनामुलक सूचना पाटी, होडिङबोर्ड, सरसफाईका लागि डस्टविन राखिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई स्थानीय सरकारले थप व्यवस्थित बनाउने मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । यस्ता कार्यक्रमले समुदायमा अपराध, लागुऔषध र सामाजिक कुरीतिलगायतका घटना न्यूनिकरण गर्न सहयोग पुग्ने उनको भनाई छ ।
अपराध रहित समाज निर्माणका लागि समुदाय प्रहरी साझेदारी अभियान अन्तरगत लागु औषध दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम विहिबार रामपुरमा सम्पन्न भएको छ । कोशी प्रदेशका पुर्वमन्त्री अम्बिरबाबु गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा शान्ति सुरक्षा, विकास र परिवर्तनका सवालमा सबै एकतावद्ध हुनुपर्नेमा अतिथिहरुले जोड दिएका थिए ।
समाज, प्रहरी र सरोकारवालासँगको समन्वयमा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बरुणेश्वर सेवा समाजका अध्यक्ष तोया काफ्लेले बताएका छन् ।
कार्यक्रममा कोशी प्रदेशका पुर्वमन्त्री गुरुङ, प्रमुख जिल्ला अधिकारी सुवेदी, सुरक्षा निकायका प्रमुखहरु, गाउँपालिका प्रमुख सहित जनप्रतिनिधि, समाजका पदाधिकारी, शिक्षक, विद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो ।

गैरकानूनी क्रियाकलाप भएपनि गाउँघरका घटनाहरु प्रहरी सम्म उजुरीका रुपमा नआउँदा पीडतले न्याय नपाउने र पीडकलाई कारबाही नहुँदा यस्ता घटनाहरु न्यूनिकरण नहुने समस्या छ । पालिका स्तरमा रहेका न्यायिक समितिहरुमा आएका उजुरी मिलपत्रमा टुङ्गो लगाउने र दवावमा मिलापत्र मात्रै गर्दा घटना थप पेचिलो बन्ने हुँदा प्रहरीसहितका न्यायिक निकायमै पीडित पुग्नेक्रम बढेको छ । यो अवस्था सुधार गर्न रामपुरमा सुरु भएको समुदाय प्रहरी साझेदारी अभियानले टेवा पुग्ने सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया