ओखलढुङ्गा प्रहरीले साइबर अपराध न्यूनिकरण गर्न विद्यार्थी मार्फत समुदायमा सचेतना फैलाउने अभियान थालेको छ । प्रविधिको तीव्रतम् विकाससँगै सामाजिक सञ्जालको प्रयोगले मानिसको जीवनलाई सहज बनाए पनि यसको दुरुपयोगले समाजमा अनेकौं चुनौतीहरू थपिएपछि प्रहरीले विद्यार्थी मार्फत समुदायमा सचेतना फैलाउने अभियान सुरु गरेको हो ।
कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ । सिद्धिचरण नगरपालिका–११ को जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको साइबर अपराध न्यूनिकरणबारे सचेतना कक्षा जिल्लाका सबै पालिकाका विद्यालयहरुमा सञ्चालन हुनेछ ।
बर्दिसहित कक्षा कोठा प्रवेश गर्ने प्रहरीले साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित र सहि सदुपयोग, साइबर अपराधबाट समुदाय तथा व्यक्तिमा पर्ने असर र साइबर अपराध गरेमा हुने कानुनी सजायको बिषयमा जानकारी दिने गरेको छ ।
गाउँ गाउँमा नयाँ नयाँ स्वरुपका साइबर अपराधका घटना बढ्न थालेकाले विद्यालय विद्यलयमा पुगेर विद्यार्थी मार्फत समुदायमा सचेतना फैलाउन विशेष कक्षा लिन थालिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मदन केसीले भिजनसँग बताए । विद्यार्थीलाई सचेत गराउँदा उनीहरु आफु स्वयं त्यसबाट बच्ने र परिवार तथा समुदायमा समेत साइबर अपराधबारे जनचेतना पुग्ने भएकाले विद्यालयमा यो कार्यक्रम गरिएको प्रहरी प्रमुख केसीको भनाई छ । ‘जसरी वास्तविक दुनियाँमा सचेत रहनुपर्छ, त्यसरी नै भर्चुअल दुनियाँमा पनि सजग रहन आवश्यक छ । तर प्रविधिको विकास उपभोग दर्ता यसको दुरुपयोग पनि बढ्यो त्यो रोक्न हामी विद्यार्थी मार्फत घरघर पुग्दैछौं ।’ उनले भने, ‘घरघरमा पुग्ने र सचेतना फैलाउने उपर्युक्त माध्यम विद्यार्थीहरु हुन् । अझ विद्यार्थीहरु नै साइबर अपराधमा संलग्न हुनसक्ने जोखिम पनि रहेकाले उनिहरुलाई कानूनी जानकारी गराउन कक्षा लिइरहेका छौं । सम्भव भएसम्म धेरै विद्यालयमा पुग्ने प्रयत्न गर्छौं ।’ अनलाइन ठगीको सिकार नबन्न, सामाजिक सञ्जालमा व्यक्तिगत विवरण अरुलाई नदिन, सुरक्षित र बलियो पासवर्ड राख्न तथा शंकास्पद सामग्रीहरूलाई नखोल्न, शेयर नगर्न उनले आग्रह गरेका छन् ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीको भनाई छ । विशेष गरी किशोर अवस्थाका विद्यार्थीहरूमा अनलाइन सुरक्षाबारे बुझाउनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए । ‘सचेत र सुरक्षित बन्नु नत्र कारबाही हुन्छ भन्ने प्रहरीको यो अभियान असाध्यै राम्रो देखियो । हामी शिक्षक र अरु व्यक्तिले भनेको भन्दा कानून कार्यान्वनका कुरा प्रहरीले नै विद्यार्थीलाई भन्दा प्रभावकारी बन्दो रहेछ ।’ अधिकारीले भने, ‘प्रहरी मेरो साथी भन्ने भनाईलाई यस्तै अभियानहरुले सार्थक बनाउँछ । प्रहरीले पनि अपराध गरेकालाई कारबाही मात्रै गर्दैन सुरक्षित समाज निर्माणमा भूमिका खेल्छ भन्ने सन्देश यो अभियानले दिएको छ ।’ जिल्लाका दुर्गम क्षेत्रका विद्यालयहरुमा समेत यस्ता कक्षाहरु सञ्चालन हुनुपर्ने उनको भनाई छ ।
यसअघि पनि प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा बाल विवाह न्यूनीकरण र लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । त्यस्ता कार्यक्रमहरु प्रभावकारी बनेका थिए ।

प्रतिक्रिया