ओखलढुंगा कारागारमा ४ महिनादेखि अहेव नहुँदा कैदीबन्दीकाे स्वास्थ्य जाँच र उपचारमा समस्या

भिजन समाचार
34
Shares

जिल्ला कारागार ओखलढुंगामा दरबन्दी अनुसार माघ महिना देखि अहेव कर्मचारी नहुँदा समस्या भएको छ । कारागारमा कार्यरत अहेवको २०८१ माघमा अन्यत्र सुरुवा भएपछि कैदीबन्दी र कर्मचारी बिरामी पर्दा जाँच तथा उपचारमा समस्या भएको हो ।

सरोकारवाला निकायसँग माघ देखि नै अहेव कर्मचारी पदपुर्तिका लागि माग गरिएको भए पनि अझै रिक्त रहेको कारागारका निमित्त जेलर लेखनाथ दाहालले जानकारी दिए । कैदीबन्दीको स्वास्थ्यमा समस्या आउँदा जाँच तथा उपचारको लागि स्वास्थ्य संस्था र अस्पताल पुर्र्याउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

कारागारमा नियमित औषधि सेवन गर्ने दिर्घरोगी १७ जना रहेको र उनीहरुको बेलाबेलामा स्वास्थ्य परिक्षण गर्न, आवश्यक औषधि सेवनका लागि परामर्श दिन र विभिन्न स्वास्थ्य समस्या आउँदा रात–साँझ नभनी अस्पताल पुर्याउनुपर्ने समस्या रहेको निमित्त जेलर दाहालले बताए ।

पछिल्लो पटक पनि अहेव पदपुर्तिका लागि ताकेता गरिरहेकोले अब चाडै यो समस्या समाधान हुनेमा उनको विस्वास छ । कारागारमा अहेव बाहेक भने अन्य कर्मचारीको दरबन्दी पूर्ण रहेको छ ।

कारागारमा हाल ७४ जना कैदीबन्दी छन् । दैनिक रूपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । हाल ५५ कैदी र १९ थुनुवा छन् । जसमा सात जना महिला कैदी छन् ।

अझैसम्म कारागारको सुरक्षा पर्खाल व्यवस्थित बन्न नयाँ बनेको भवनमा सार्न समस्या भएको छ । पुरुष कैदीबन्दीको संख्या दोब्बर हुँदा बस्नको लागि ठाउँ कोचाकोच गर्नुपर्ने र शौचालयमा भिड हुने लगायतका समस्या समेत रहेको कारागार प्रशासनले जनाएको छ ।