नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुंगा जिल्ला विकास समितिका पूर्व सभापति एवं नेपाली कांग्रेसका पुराना नेता कोर्मोचाको उपचारका क्रममा गएराती विएण्डवी अस्पतालमा निधन भएको हो ।
वि.सं. २००२ मा ओखलढुंगाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बचेका जिवित नेता मानिन्थे । उनले नेपाली राजनीतिमा लामो समय योगदान गरेका छन् ।
सात सालको क्रान्तिमा लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी पाएसँगै सुरु भएको राजनीतिक यात्राले उनलाई ओखलढुंगा जिल्ला पार्टीको सभापति र तत्कालिन जिल्ला विकास समितिको सभापति समेत बनायो ।
त्यागी र सादगी नेताको पहिचान बनाएका कोर्मोचाको निमाेनियालगायतका स्वास्थ्य समस्या आएपछि निरन्तर उपचारमा थिए ।
हजुरबुवा भूमिगत कांग्रेस कार्यकर्ता भएकाले घरैबाट सात सालको क्रान्तिको सुरुवात भएको बताउने महेश कोर्मोचालाई त्यो बेला लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी थियो । नेपाली कागजमा तीतेपातीको झोलले लेखेका चिट्ठी बोकेर सुराकी र प्रहरीका आँखा छल्दै तिनका प्रापक खोज्दै ओखलढुंगा र रामेछापका गाउँगाउँ चहारेर क्रान्तिमा योगदान गरेको उनको इतिहाँस छ । त्यस्ता चिट्ठीमा राणाशासनको अवसान गराइछाड्ने कसम कुँदिएका हुन्थे, संघर्षका योजना र भूमिगत कार्यक्रमका फेहरिस्त समेटिन्थे ।
२०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध कु गरेपछि गाउँ आतंकित भएसँगै प्रशासनसँग बच्न गाउँका पन्ध्र जना युवालाई लिएर कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती हुन धरान गएका थिए । उनिसहित १५ जनामध्ये १४ जना भर्ती भएका थिए । ब्रिटिस आर्मीमा कोर्मोचाले ८ वर्ष सेवा गरेका थिए । त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपरेसँगै फेरि गाउँ फर्किएर राजनीतिमा सकृय भएका थिए ।
२०२५ सालमा नेपाली कांग्रेसले सशस्त्र युद्धको घोषणा गरेपछि ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भएको थियो । त्यो आन्दोलनमा विभिन्न भुमिकामा रहेर कोर्मोचाले काम गरे । त्यसबेला सवारी चालक भएको देखि रक्सीको व्यापार समेत गरेर संगठन निर्माण गरेको इतिहास छ ।
कोर्मोचा टिमुरबोटे काण्डमा बच्न सफल एक मात्रै जिवित नेता थिए । २०३१ साल पुष १ गते सोलु ब्यारेक कब्जा गर्ने योजना अनुसार मंसिर २९ गते टिम्बुरबोटेको जंगलमा पुगेको कांग्रेसको टोलीमा कोर्मोचा पनि थिए ।
क्याप्टेन यज्ञबहादुर थापा नेतृत्वको टोली ओडारमा बस्ने र त्यहाँको गाउँठाउँ बुझेका महेश कोर्मोचा सल्लेरीसम्म पुगेर ‘रेकी’ गर्ने योजना बनेको थियो । बाँकी साथीलाई टिम्बुरबोटेको जंगलमा छाडेर कोर्मोचा राती नै सल्लेरी तर्फ लागेकाले भोलिपल्ट भएको टिमुरबोटे काण्डमा संयोगवस कोर्मोचा बच्न सफल भएका थिए । त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो ।
ओडारमा बसेका केही लडाकु भाग्न सफल भएका थिए । भाग्नेमध्येमा एक थिए क्याप्टेन यज्ञबहादुर थापा । उनि नेपाली सेनाका पूर्वक्याप्टेन थिए । नेपाली कांग्रेसले २०२५ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लागेका थिए । टिम्बुरबोटे काण्डमा बल्लतल्ल बचेका थापालाई २०३५ सालको माघमा कमला नदीको किनार पु¥याइ हत्या गरिएको थियो ।
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किएपछि महेश पनि पक्राउ परेका थिए । राज्यविप्लवको मुद्दामा उनले पटकपटक गरी ८ वर्षको जेल जीवन बिताएका थिए ।
२०४६ सालको बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुंगा कांग्रेसको सभापति भएका थिए ।
बाल्यकाल देखि आबद्ध रहेको कांग्रेस पार्टीमा ७० बर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए । नयाँ शक्ति पनि त्यागेर विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको सहसंयोजक समेत बनेका कोर्मोचा पुनः कांग्रेसमै फर्किएर सकृय राजनीति गरिरहेका थिए ।
अनेक सीप र क्षमताका धनि काेर्माेचासँग थुप्रै विषयका ज्ञान र अनुभव थिए । कुनै समय जिल्लामा एकछत्र राज गरेका उनकाे पछिल्लाे समय राजनीतिक र सामाजिक क्रेज केही घटेकाे थियाे ।
उनै लामो राजनीतिक इतिहास बोकेका नेता कोर्मोचाको निधन भएको छ ।
कोर्मोचाको निधनले कांग्रेस पार्टी र समग्र ओखलढुंगा जिल्लालाई अपुरणिय क्षति पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले बताए ।
कोर्मोचाको निधनले खिजीदेम्बा शोकमा परेको छ । उनको राजनीतिक जीवनलाई नजिकबाट नियालेका खिजीकातीका तत्कालिन वडाअध्यक्ष रेखनाथ न्यौपाने कोर्मोचाको निधनसँगै एउटा इतिहाँस पुरुषको लिला समाप्त भएको बताउँछन् । ‘कहिले उकाली कहिले ओराली कहिले पारघाम कहिले संयलघाम पार गर्दै रुखमुनीको आस्था राखेर राजनीतिमा त्याग तपस्या जीवन बलिदानको बाबजुतमा टाउकाको मुल्य ३ लाख तोकिँदा पनि डटेर, टिमुरबोटे काण्डमा बचेर फेरि लिखु हामफालेर भारत पलायत भएर बच्दै जिविस सभापति अत्याधिक मतले जितेर जिल्लाको विकास र निकासका लागि अति प्रेमभाव सोचल काम गरेको आज जस्ताे लाग्छ ।’ कोर्मोचालाई स्मरण गर्दै न्यौपानेले भने, ‘त्याग अनुसार पदमा पुग्न नपाएको र छोराको विवाहमा सहभागि हुन घर आउँदा पक्राउ परि जेल परेको क्षणहरु संधैं सम्झनामा छन् । विपक्षलाई पनि गाली नगर्ने, मिलनसार र सामाजिक काममा निस्वार्थ लाग्ने महेशदाई बाट अहिलेका नेताहरुले धेरै सिक्नुपर्ने र उहाँले देखेका सपना पुरा गर्नुपर्ने छ । ’
उनको जन्मथलो ओखलढुंगाकै खिजीचण्डेश्वरीमा अन्त्यष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ ।
कोर्मोचाका श्रीमती, १ छोरा र २ छोरी छन् ।
स्वर्गिय नेता कोर्मोचा प्रति हार्दिक श्रद्धाञ्जली ।
प्रतिक्रिया