ओखलढुंगा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

ओखलढुंगा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा


भिजन समाचार
2.7k
Shares

ओखलढुङ्गालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम तालिकाअनुसार जिल्लाका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता गरिएसँगै पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।

कोशी प्रदेशका १४ जिल्ला मध्ये यस वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने ओखलढुंगा पहिलो जिल्ला बनेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अहमद मन्सरीका अनुसार जिल्लाका ८ वटै पालिकाका ७५ वटै वडामा १६ देखि ५९ महिना उमेर समूहका कूल ३ हजार १ सय ४० जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप पाइसकेका पछि जिल्ला घोषणा गरिएको हो । यस्तै जन्म देखि १५ महिना उमेर समूहका एक हजार ६८४ जना बालबालिकाहरुले पनि उमेर अनुसार नियमिति खोप पाइसकेका छन् ।

जन्मदेखि १५ महिनासम्मका बालबालिका सिद्धिचरण नगरपालिकामा ३१९, चिशंखुगढीमा १६५, मानेभञ्ज्याङमा ३१९, मोलुङमा १५३, सुनकोशीमा २६७, चम्पादेवीमा १७२, लिखुमा १३१ र खिजीदेम्बामा १५८ जना छन् ।

१६ देखि ५९ महिना उमेरका बालबालिका सिद्धिचरणमा २४१, चिशंखुगढीमा १२८, मानेभञ्ज्याङमा ८५१, मोलुङमा ५०८, सुनकोशीमा ४३६, चम्पादेवीमा ६०८, लिखुमा २८१ र खिजीदेम्बामा ९७ जना छन् ।

जिल्लाका सबै बालबालिकाले खोप पाएको सूनिश्चितता भएकोले जिल्ला स्वास्थ्य प्रमुखको प्रस्ताव अनुसार जिल्ला खोप समन्वय प्रमुख एवम् समिति संयोजक टेकराज भट्टाईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख भट्टराईले पूर्ण खोप सुनिश्चिततालाई दिगोपना दिनुपर्ने र खोप कार्यक्रमलाई जनस्तरमा जागरणका रुपमा लैजानुपर्ने बताए ।

अभियानमा सक्रियतापूर्वक सहभागी हुने स्वास्थ्यकर्मी र पालिकालाई प्रशंसापत्रले सम्मान गरिएको छ ।

खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित रहन सघाउने भएकाले सबैको प्रयासमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको र मानव जीवनसँग जोडिएको यो विषय जिल्लाकै लागि एक उपलब्धि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका खोप निरीक्षक उमा गुरुङको भनाई छ ।

एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।

कार्यक्रमको अवसरमा पालिकाका स्वास्थ्य शाखाहरुले खोप सम्बन्धि कार्य प्रगति प्रतिवेदन र भइरहेका कामबारे प्रस्तुतिकरण दिएका थिए ।

स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको सङ्लग्नतामा तयारी र योजनासहित घरपरिवार सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ । सबै वडा घोषणा भएपछि पालिका र सबै पालिका घोषणा भएपछि जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, जिसस प्रमुख भट्टराई, उप–प्रमुख तारादेवी कार्की, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख मदन केसी, जिल्ला स्वास्थ्य प्रमुख मन्सरी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, पत्रकार लगायत सरोकारवालाको सहभागिता थियो ।