अपाङ्गतालाई उद्यमी बनाउन मोलुङमा आलु चिप्स बनाउने तालिम

अपाङ्गतालाई उद्यमी बनाउन मोलुङमा आलु चिप्स बनाउने तालिम


भिजन समाचार
1.9k
Shares

ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले अपाङ्गता भएका युवालाई उद्यमी बनाउन आलुका परिकार बनाउने तालिम दिएको छ । गाउँपालिकाले चार लाख बजेट विनियोजन गरि पालिकाका नौं जना युवालाई आलु चिप्स बनाउने तालिम दिएको हो ।

गाउँमै उत्पादन हुने आलुका परिकार बनाएर घरैमा बसेर आम्दानी गर्न सक्ने र सामुहिक रुपमा उद्यम समेत गर्न सक्नेगरी तालिम दिइएको गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाले बताइन् । अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत पालिकाले अपाङ्गगता भएका व्यक्तिहरुको जीवनस्तर उकास्न र आयआर्जनसँग जोड्ने उद्वेश्यले तालिम सञ्चालन गरेको उनको भनाई छ । ‘फरक क्षमता भएना नागरिकलाई उद्यमी बनाउने, उनिहरुको आयस्रोत बढाएर समाजमा सम्मानपूर्वक जीवनयापन गर्न सक्ने बताउन आलुका परिकार बनाउने तालिम दिइएको हो ।’ उपाध्यक्ष खतिवडाले भिजनसँग भनिन्, ‘खेतबारीमा प्रशस्त आलु फल्ने भएकाले कच्चा पदार्थको समस्या हुँदैन र परिकार बनाउँदा सहजै विक्रि हुने भएकाले बजारको समस्या पनि पर्दैन ।’ फरक क्षमता भएका नागरिकहरुले उत्पादन गरेका सामाग्रीहरु पालिकाले बजारी करण र विक्रिका लागि पहल गर्ने भएको छ ।

बैशाख २३ देखि सञ्चालन भएको तालिमको बिहीबार समापन भएको हो ।

तालिममा सहभागीहरु आलुका परिकार बनाउन सक्षम भएका छन् ।

तालिम पछि सहभागी नौं जनालाई आलु चिप्स बनाउने मेसिन पनि हस्तान्तरण गरिएको छ । सिकेको सीपलाई उद्यमशिलतासँग तत्काल जोड्न प्रविधि हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओशो कर्णको भनाई छ ।

गाउँपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश र करुणा फाउन्डेसन नेपालको सहकार्यमा मोलुङमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम  सञ्चालनमा छ ।