जिल्ला कारागार ओखलढुंगामा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहितको सुरक्षा निकायको टोलीले अनुगमन गरेको छ । कारागारमा रहेका कैदीबन्दीको समस्या र कारागारको चुनौतिका बिषयमा बुझ्न शुक्रबार अनुगन गरिएको हो ।
अनुगमनका क्रममा मानव अधिकारका आधारमा कैदीबन्दीले पाउनुपर्ने अधिकार तथा सेवा पाए/नपाएको, कारागार भित्र कैदीबन्दीले भोग्नुपरेका समस्या, उनीहरुका लागि सिप विकासका कार्यक्रम सञ्चालन भए/नभएको, नियमित औषधि सेवा गर्ने, वृद्धवृद्धा र रोगी कैदीबन्दीले उपचार सेवा पाए÷नपाएको लगायतका बिषयमा अनुगमन भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।

उनका अनुसार कारागारका कैदीबन्दीसँग कुराकानी गर्दा पुरुष कैदीबन्दीले बस्नको लागि ठाउँ कोचाकोच हुने गरेको, शौचालयको समस्या रहेको र ठाउँ साँघुरो हुँदा समस्या भएको लगायतका गुनासो राखेका छन् । अन्य सेवा भने कानुन अनुसार पाउने पाइराखेको कैदीबन्दीहरुले प्रतिक्रिया दिएको उनको भनाई छ ।
यस्तै कारागारमा सुरक्षा पर्खाल व्यवस्थित नहुँदा नयाँ भवनमा कैदीबन्दी सार्न समस्या भएको र सुरक्षा चुनौति हुने गरेकोबारे निमित्त जेलर लेखनाथ दाहालले प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायललाई जानकारी गराएका थिए ।

अनुगमन पनि आवश्यक निर्देशन दिदैँ प्रजिअ सुवेदीले समस्या समाधानमा सरोकारवाला निकाय समक्ष ताकेता र पहल गर्ने बताएका छन् ।
अनुगमनमा प्रजिअ सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल तथा जिल्लाका सुरक्षा निकायहरु प्रमुखहरुको सहभागीता थियो ।
यस्तै कारागारमा रहेका कैदीबन्दीहरुको राष्ट्रिय परिचयपत्र समेत कारागार मै दर्ता स्टेशन तयार गरी विवरण दर्ता गरिएको छ । सात जना पुरुष कैदीबन्दी र तीन जना महिला तथा कारागारमा कार्यरत दुई जना प्रहरी गरि १२ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया