सिद्धिचरणलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा

सिद्धिचरणलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा



ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक आइतबहादुर राईका अनुसार सिद्धिचरणका १२ वटै वडामा १६ देखि २३ महिना उमेर समुहका कुल २ सय ४१ बालबालिकाले १५ महिना उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाइसकेका छन् ।

यस्तै जन्म देखि १५ महिना उमेर समूहका ३ सय १९ जना बालबालिकाहरुले पनि उमेर अनुसार नियमिति खोप लगाइसकेका छन् ।

नगरस्तरीय खोप समन्वय समिति र नगरपालिका स्वास्थ्य शाखाले सोमबार जिल्ला स्तरीय एक कार्यक्रमका बीच जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरणलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिकाका सबै बालबालिकाले खोप पाएको सूनिश्चितता भएकोले निमित्त प्रमुख प्रशासकीय अधिकृत दिव्य श्रेष्ठको प्रस्ताव, नगर उप–प्रमुख केदारबाबु बस्नेतको सहमर्थनमा नगर प्रमुख तेजन खनालले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको नगरपालिका  घोषणा गरेका हुन् । नगरपालिका खोप समन्वय समितिका प्रमुख समेत रहनुभएका नगरप्रमुख खनालले पूर्ण खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए । 

स्वयंसेविका, सरोकारवाला, स्वस्थ्यकर्मी र जनप्रतिनिधिसहित सबैको प्रयासमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएकोले मानव जीवनसँग जोडिएको बिषयमा यो एक उपलब्धी भएको नगर उप–प्रमुख बस्नेतको भनाई छ ।

कार्यक्रमको अवसरमा सबै वडाका स्वास्थ चौकी प्रमुख र वडा अध्यक्षलाई सम्मान समेत गरिएको छ ।

एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ ।

स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको सङ्लग्नतामा तयारी र योजनासहित घरपरिवार सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ ।

सबै वडा घोषणा भएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

चालु आर्थिक बर्षमा यसअघि जिल्लाको चम्पादेवी र मानेभन्ज्याङ गाउँपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकेका छन् ।