खिजीफलाटे बजार अनुगमन

खिजीफलाटे बजार अनुगमन



ओखलढुंगाको खिजीफलाटे बजार अनुगमन गरिएको छ । सदरमुकाम देखी टाढाको बजार मध्यको पुरानो खिजीफलाटे बजार अनुगमन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, खिजीदेम्बा गाउँपालिका र प्रहरीले बजार अनुगमन गरेका हुन् ।

१५ वटा किराना साथै होटलहरुमा खाद्य सामाग्रीका उपभोग्य म्याद, व्यवसाय दर्ता नविकरण लगायतको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । अनुगमनका क्रममा ९३० रुपैयाँ मुल्य बराबरको अखाद्य वस्तु फेला पारेको खनालले जानकारी दिए । अन्यत्र भन्दा निकै कम मात्रामा म्याद गुज्रेका अखाद्य सामाग्री फेला पारिएको सहायक प्रजिअ खनालको भनाई छ ।

अनुगमनकै व्यवसाय क्रममा दर्ता, नविकरण नगरि कारोबार गरिरहेका व्यवसायीलाई सचेत गराईएको घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाका प्रमुख मोहनराज भट्टराईले बताए । घरेलु र कर कार्यालयले संयुक्त घुम्ती शिविर मार्फत विभिन्न स्थानिय तहमा दर्ता नविकरण लगायतको सेवा दिईरहेका छन् ।