आठ महिनामा पन्ध्र करोड बढी राजश्व संकलन

आठ महिनामा पन्ध्र करोड बढी राजश्व संकलन



करदाता सेवा कार्यालय ओखलढुंगाले आठ महिनाको अवधिमा १५ करोड बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन देखि फागुन मसान्त सम्म कार्यालयले १५ करोड ७१ लाख २४ हजार राजश्व संकलन गरेको हो ।

यो लक्ष्य भन्दा कम हो । कार्यालयले २४ करोड ४९ लाख नौ हजार राजश्व संकलन गर्ने लक्ष्य लिइएको थियो । लक्ष्यको ६४.१६ प्रतिशत मात्र राजश्व संकलन भएको करदाता सेवा कार्यालय ओखलढुंगाका कर अधिकृत अरविन्द रानाभाटले बताए ।

कतिपय भुक्तानी आर्थिक बर्षको अन्तिम तिर हुने भएकाले लक्ष अनुसार हाल राजश्व संकलन कम देखिएको कर अधिकृत रानाभाटको भनाई छ । सबैभन्दा बढी आयकर बापत १० करोड ३३ लाख पाँच हजार र भ्याट कर वापत चार करोड ७३ लाख ८९ हजार संकलन भएको छ ।

यस्तै अन्त शुल्क बापत ३७ लाख ३३ हजार, घर बहाल कर वापत १८ लाख ८० हजार र ब्याज कर वापत आठ लाख १७ हजार राजश्व संकलन भएको छ ।

राज्यले नागरिकको सुरक्षा र सेवा सुविधाको लागि अरबौँ रकम खर्चिने र त्यो रकम नागरिकले बुझाएको कर बाटै पुर्ति हुने भएकाले कर तिर्नु नागरिकको कर्तव्य भएको कार्यालयले जनाएको छ । कर छलि गर्दा दण्डित समेत हुने व्यवस्था रहेको तर्फ उनले सचेत गराएका छन् ।

कार्यालयबाट स्थानी लेखा नम्बर दर्ता नविकरण, अन्तःशुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा प्रदान हुँदै आएको छ । कार्यालयले सोलखुम्बुको पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुंगा र सोलुखुम्बुका सबै पालिकालाई सेवा दिने गरेको छ ।